काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी तयारी गरिरहेको बताएका छन् ।
शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइन बाट पनि मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । यसका निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी गराए ।
त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरूको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताएका छन् अटोमेसनका लागि सफ्टवेयर लगायतका पूर्वाधार तयार गरिरहेको पनि उनले उल्लेख गरे । कायममुकायम प्रधानन्यायाधीश कार्कीले अदालतहरूमा रहेका अभिलेख मिसिलहरूलाई डिजिटाइजेसन गर्न सुरु गरिएको बताए ।
अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरूलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उनले जानकारी दिए ।
का.मु. प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरूको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको बताए । उनले यसबाट मुद्दाका पक्षहरू र अदालत स्वयंलाई कार्य सम्पादनमा सहज भएको पनि बताए ।
प्रतिक्रिया