रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजदेखि चारवटा सेवामा टाइम कार्ड लागु गरेको छ । सेवामा सहजता ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्यौलता हटाउन टाइम कार्ड लागु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र तथा ई-पासपोर्टमा टाइम कार्ड लागु गरिएको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तैयारी कार्यालयले गरेको अर्यालले बताए । यो नियम लागु भएपछि सेवाग्राहीलाई समयसहितको एउटा टोकन वितरण गरिन्छ ।
टोकनमा सेवाग्राहीले सेवा पाइने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पुर्याएर १२ बजे भित्र पेस भएका निवेदकहरूलाई १ बजे भित्र र दिउसो १२ बजेदेखि ३ बजे सम्म पेस हुन आएका निवेदकहरूलाई ४ बजे भित्र नागरिकता प्रदान गरिने अर्यालले बताए ।
नागरिकता प्रतिलिपिको हकमा प्रमाणपुर्याएर पेस भएका निवेदकहरूलाई अभिलेख भिडेको १ घण्टा भित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टा भित्रै सेवा पाउने अर्यालले दाबी गरेका छन् ।
ई-पासपोर्टको लागि आउने सेवाग्राहीहरु प्रि-ईनरोलमेन्टको फारम भरेर आएकाहरूको तोकिएको दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई-पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।
प्रतिक्रिया