काठमाडौँ । जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका-१० लालिगुराँस चोकमा बिहीबार बिहान आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।
छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो ।
त्यस्तै, पोलिएर घाइते भएका ३८ वर्षीय राउटे नारायण शाहीको अस्पतालबाट फर्काइँदै गर्दा बिहीवार चितवनमा ज्यान गएको छ ।
युवा पुस १९ गते पोलिएर घाइते भएका राउटे युवाको ज्यान गएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
नारायण नगरपालिका-८ सालेतडामा बस्दै आएका ३८ वर्षीय नारायण शाही अगेनाको आगोले ओछ्यानमा ओढिरहेको कम्बल पोलिएर घाइते भएका थिए ।
उनलाई दैलेख र सुर्खेतमा भएको प्रारम्भिक उपचारले निको नभएपछि काठमाण्डौको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।
१२ दिनसम्म राखेर सुधार नभएपछि ट्रमा सेन्टरले घर लैजान भनेको थियो । अस्पतालबाट निकालेर एम्बुलेन्सबाट दैलेखलिदै गर्दा बाटोमै चितवन पुग्दा उनको ज्यान गएको हो ।
हरेक दुई-तीन महिनामा ठाउँठाउँ बस्ती सार्दै हिड्ने नेपालको एउटा मात्र फिरन्ते लोपोन्मुख जातिमा सूचीकृत राउटे समुदायका ती युवाको आगोले जलेको १६ दिनपछि बिहीवार(आज) ज्यान गएको हो ।
चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी शाही जलेका थिए । दैलेखको नारायण नगरपालिका वडा नम्बर ९ को चुप्रा नजिक जङ्गलको राउटे बस्तीमा ४२ घरका १४३ जना सदस्य रहेका छन् ।
नारायणको मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।
आगलागीको घटनाबाहेक राउटे समुदायमा पछिल्लो समय धेरै जसो सदस्यको अत्यधिक मदिरा सेवनका कारण अकालमै मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया