काठमाण्डाै। नेकपा एमालेका सांसद एवम् नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् ।
आज बुधवार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन् ।
उनले विगतमा भएका कमजोरीबाट सिकेर आउँदा दिनमा सभामुखको भूमिका निभाउने पनि बताए । सभामुख कुनै एक दलबाट नभइ सिङ्गो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने गरी कार्यसम्पादन गर्ने उनको भनाइ छ ।
उनले भने, ‘म सभामुख हुने कुरा निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । यो दलबाट विजयी बनेर होइन, सिङ्गो प्रतिनिधि सभाबाट विजयी भएर जाने हो । प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कमी हुन दिन्नँ । विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।’
प्रतिक्रिया