जनकपुरधाम। मधेस प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका हुन् ।
मण्डलको पक्षमा ७४ मत आएको थियो भने उनको विपक्षमा २९ मत परेको हो । मण्डललाई कांग्रेस र नेकपा एसका सांसदबाहेक बाँकी प्रदेशसभा सदस्यहरुले मतदान गरे ।
सभामुखमा मण्डल निर्वाचित भएकाले सभामुखको अर्को प्रस्ताव खारेज भएको छ । सभामुखको लागि नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार बनेका थिए ।
यस्तै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ । हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् ।
उनको पक्षमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसद रहेका थिए ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन् ।
विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसद्मा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए ।
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया