पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको शव अझै भेटिएको छैन ।
सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले बताएका छन् । एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिने भएको छ ।
हिजो (सोमबार) ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो । आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार रहेका थिए ।
दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिए पनि २ जना भेटिन बाँकी छ । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।
शव बुझाउन ढिलो भएको भन्दै दिउँसो केहीबेर अस्पताल प्रशासनमा भनाभनसमेत भएको थियो । दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं ल्याइने छ ।
प्रतिक्रिया