काठमाडौं । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ ।
शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले बताए ।
पहिचान भएका शवहरुको पोखरामै पोस्टमार्टम गरिएको छ र त्यहीँबाट आफन्तलाई जिम्मा लगाउने तयारी रहेको छ । तर पोस्टमार्टम गरेर आफन्तलाई आजै शव दिन कठिन भएको निर्देशक खत्रीले बताएका हुन् ।
अस्पतालका अनुसार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका चिकित्सकको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।
दुर्घटनामा भेटिएका ६९ शवमध्ये २६ जनाको मात्र सनाखतन भएको छ । सनाखत भएको सग्लो शरीरसहितको शवको पोस्टमार्टम पोखरामै हुँदै छ । कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भएपनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाडौ लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।
प्रतिक्रिया