काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती-६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।
विगत पाँच वर्षदेखि उनि कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत रहेका थिए । कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा परि निधन भएको हो । केन्द्रका प्रमुख किरन सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताएका छन् ।
“यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,” उनले भने, “उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।” नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर आएका थिए । वि.स. २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत रहेका थिए ।
श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा रहेका छन् ।
प्रतिक्रिया