• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइदै

    1.1K
    SHARES



    काठमाडौँ । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइदै छ ।

    दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइनेछ ।

    उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जाँदैछ ।

    माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर-७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

    विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार रहेका थिए । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।

    यस्तै, प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ बाहिरका सबैजसो विमानस्थलको उडान प्रभावित भएको बताएका हुन् । उनले भने, “काठमाडौँ विमानस्थल खुला छ, अहिलेसम्म बाहिरका विमानस्थल लगभग सबै बन्द छन् ।”

    देशको तराइका भू-भागमा हुस्सु-कुहिरो लागेकाले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । महाप्रबन्धक ठाकुरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसम खराबीका कारण अहिलेसम्म उडान हुन नसकेको हो । दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज देशभरको सबै उडान स्थगित गरेको छ । पोखरा गन्तव्यमा विभिन्न एयरलाइन्सको उडान तालिका छ ।

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया