काठमाडौँ। सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा आज सकिन लागेको भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकिरहेको छैन ।
प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेका हुन् । प्रदेश सभाले सभामुख र उपसभामुख दुवै पाएको छैन । सभामुख चयनका लागि आज बिहान ९ बजे पुनः प्रदेश सभाको बैठक बस्दै छ ।
पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता रहेको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अहिले बिहानैसर्वदलीय बैठक बोलाइएको जानकारी गराएका छन् ।
उनकाअनुसार बैठकमा सभामुख र उपसभामुख चयनका विषयमा छलफल गरेर प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी रहेको छ । सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत पाएका थिए भने सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।
३० पुसमा भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२/२२ मत पाएका थिए । सत्तारुढ गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै उम्मेदवारले बहुमत नपाएका हुन् ।
प्रतिक्रिया