विराटनगर। जहाज दुर्घटनाको पारिवारिक वियोगपछि पाइलट बनेकी विराटनगर-५ चाँदनी चोक माइती भएकी को-पाइलट अञ्जु खतिवडाको पनि आइतबार जहाज दुर्घटनामै मुत्यु भएसँगै उनको गाउँ शोकमा डुबेको छ ।
२४ वर्षअघि अञ्जुको विवाह काठमाडौं बत्तीसपुतलीका दीपक पोखरेलसँग भएको थियो । विवाहताका पोखरेल आर्मीको हेलिकोप्टरका को-पाइलट थिए । नातामा अञ्जुका भानिज-काका पर्ने गोपाल रेग्मीले भने, ‘आर्मीको हेलिकप्टरको को-पाइलटपछि दीपक यति एयरलाइन्सको पाइलट बने । तर, २००६ मा जुम्लामा भएको यतिको जहाज दुर्घटनामा उनको मुत्यु भएपछि अञ्जु श्रीमान्को सपना साकार पार्न अमेरिका गएर पाइलट पढेर फर्किएकी थिइन् ।’
तर उनको पनि आइतबार पोखराको सेती खोँचमा यति एयरलाइन्सको जहाज दुर्घटनामै मृत्यु भएको छ । ज्वाइँ दीपकको मुत्युपछि अञ्जुका बुबा गोविन्द खतिवडाले उनलाई बीएन पढाउने गरी भारत पठाउने तयारी गरेका थिए । तर त्यो कुरा अञ्जुले मानिनन् । रेग्मीले भने, ‘अन्जुकै रहर र अडानले उनलाई बुबाले नै खर्च गरेर अमेरिकामा पाइलट कोर्स गर्न पठाएका थिए ।’
सानैदेखि अडान लिने र हिम्मतीलो स्वभावकी उनको उद्देश्य नै सफल पाइलट बनेर पति दीपकको सपना साकार पार्ने थियो । रेग्मीले भने, ‘उद्देश्य पूरा हुन नपाउँदै उनी नै विलय भइन् ।’
अञ्जु पाइलट कोर्स गर्न ६ वर्षकी छोरी मेलिसालाई नेपालमै छाडेर अमेरिका गएकी थिइन् । अहिले उनकी छोरी मेलिसा क्यानडामा अध्ययनरत रहेको पारिवारिक सदस्यको भनाइ छ ।
४५ वर्षीय अञ्जु पाइलट कोर्स पूरा गरेर फर्केपछि सुरुका दिनदेखि नै यति एरलाइन्ससँग जोडिएकी थिइन् । उनले काठमाडौं-भद्रपुर, काठमाडौं-विराटनगर र धनगढीलगायत विमानस्थलमा करिब सय घण्टा उडान भरेकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार आइतबार काठमाडौं-पोखराको उडान गरिसकेपछि उनको पाइलटमा बढुवा हुने अन्तिम परीक्षण उडान रहेको थियो । माइतीका छिमेकी एवं वडाध्यक्ष सन्तोष न्यापानेले भने, ‘तर उनको सपना अधुरै रह्यो ।’
प्रतिक्रिया