काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।
‘प्रधानमन्त्री आफैंले उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिँड्नु भएको छ । उहाँले त्यहीँ बसेर घटनाको जानकारी लिनुहुन्छ,’ सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् । प्रचण्डका साथ गृहमन्त्री रबि लामिछाने पनि विमानस्थल पुगेका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।
पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाका दमकलले आगो निभाउन प्रयास गरिरहेका छन् । अहिलेसम्म कति व्यक्ति हताहती भए भन्ने खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो ।
प्रतिक्रिया