काठमाण्डाै। सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो ।
हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न सकेन । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक हुन्छ ।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद रहेका छन् । सभामुखको लागि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । उनले पहिलो दिन बिहीवार भएको मतदानमा २३ मत पाएका थिए भने हिजो भएको मतदानमा २२ मत पाए ।
सत्ता गठबन्धनबीच सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री, माओवादी केन्द्रलाई सभामुख, नागरिक उन्मुक्तिलाई उपसभामुख दिने सहमति भएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्ति पार्टी सभामुख चयनमा भने तटस्थ बसेको छ । प्रदेश सभाको अर्को बैठक भोलि बोलाइएको छ ।
प्रतिक्रिया