सुर्खेत । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०-११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेको छ ।
यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।
साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यद्यपि अहिलेसम्म सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा (एमाले) ले उम्मेदवारको टुङ्गो लगाएको छैन । एमालेबाट अहिलेसम्म तीन जना सभामुखका आकाङ्क्षी देखिएका छन् । सभामुखको लागि सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा छ ।
तीन जना मध्ये मल्ल प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ र रोकाय समानुपातिकबाट निर्वाचित सांसद हुन् । एमाले सांसद टेकराज पछाईका अनुसार अहिलेसम्म उक्त विषयमा खासै छलफल नै भएको छैन ।
आज ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएकाले आज दिउँसो बैठक बसेर छलफल गरिने उनले बताए । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ ।
चर्चामा रहेका तीन जनामध्ये महिला सांसद गुरुङको सम्भावना प्रबल रहेको नेताहरूको भनाई छ । ‘भएसम्म यो पटक महिलालाई स्थान दिने भन्ने कुरा उठिरहेको छ,’ एमालेका एक सांसदले रातोपाटीसँग भने,‘ तर छलफलबाट नै टुङ्गो लाग्ने भएकाले अहिले नै भन्न सकिने अवस्था छैन ।’
प्रतिक्रिया