काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ ।
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतका क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले उक्त नारा तय गरिएको हो ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।
दिवसका अवसरमा मूल समारोह समितिले माघ २ गते कमलपोखरीमा कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने भएको छ ।
पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २९३ वटै नगरपालिकामा आर्थिक मानवीय स्रोतका अभावमा भवनसंहिता लागू गर्न नसकिएको बताएका छन् भने यसका लागि सरकारबाट छुट्टै अनुदान आउन नसक्दा समस्या भएको पनि उनले बताए ।
प्रतिक्रिया