काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी पनि गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ तर उसले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ ।
लोसपाका एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्डले नै अध्यक्षज्यू (महन्थ ठाकुर)लाई फोन गरेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ, सरकारमा जाने विषयमा अध्यक्षज्यू सकारात्मक हुनुहुन्छ ।’ सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओली पनि तयार रहेको ती नेताले बताए ।
गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए । ‘सरकारलाई समर्थन गरिसकेपछि सत्ता पक्ष नै भयौं तर सरकारमै जाने गरी उताबाट पनि सकारात्मक प्रतिक्रिया आउनुपर्छ,’ उनले भने, ‘हामी सरकारमा त्यत्तिकै सहभागी हुँदैनौं, हाम्रा पनि माग र मुद्दा छन् ।
त्यसको बारेमा सरकारले के गर्छ, त्यो कुराको पनि टुङ्गो लगाउनुपर्ने हुन्छ ।’सरकारलाई विश्वासको मत दिने बेला पनि केही विषयमा कुराकानी भएको थियो । लोसपाले उठाउँदै आएका केही विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरे पनि केही विषय सम्बोधन हुनै बाँकी रहेका छन् । ती विषयमा कुरा मिलेपछि सरकारमा जाने लोसपाको तयारी छ ।
लोसपा मधेस प्रदेश सरकारमा पनि सहभागी हुने जनाइएको छ । केन्द्रमा सहभागी हुने भएपछि मधेस सरकारको बारेमा पनि छलफल गरेर टुङ्ग्याउने भण्डारीले बताए । ‘केन्द्रमा सहभागी भइसकेपछि प्रदेशमा सहभागी नहुने त भन्ने कुरै भएन, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशमा पनि लोसपा सरकारमा सहभागी हुनेछ,’ उनले भने, ‘तर ती सबै विषय गठबन्धनसँग प्याकेजमै टुुङ्गो लगाउने तयारी रहेको बुझिएको छ ।’
प्रतिक्रिया