काठमाडौँ। टाउकोमा चोट लागेको सालकलाई तीन दिनको उपचार गरेपछि प्राकृत वासस्थानमा छोडिएको डिभिजन वन कार्यालय, धनुषाका अधिकृत बेचन चौधरीले बताए ।
“कमीला धमिरा मात्र खाने सालकलाई धरै दिन नियन्त्रणमा लिन नसकिने हुँदा हिँडडुल गर्न थालेपछि चुरे क्षेत्रभित्रको सामुदायिक वनमा छोडिएको छ,” चौधरीले भने ।
सालकलाई मिथिला नगरपालिका-४ मा पर्ने भाटेघारी सामुदायिक वनका पदाधिकारीको रोहवरमा वन क्षेत्रमा छोडिएको उनले बताए । सालकलाई कमला नदीसँगैको जनकनन्दनी गाउँपालिका-४ को खजुरी चनाहा गाउँबाट पुसको पहिला साता प्रहरी तथा संरक्षणकर्मीले उद्धार गरेका थिए ।
गाउँका बालबालिकाले नदीसँगैको क्षेत्रमा देखेको सालकलाई घाइते बनाएको खबर आएपछि प्रहरीसँगै गएको संरक्षणकर्मीको टोलीले उद्धार गरेको थियो । यो चिनियाँ सालक भएको चौधरीले बताए ।
कमिला र धमिरा खाने सालकले जमीनमा प्वाल बनाएर बस्छ । यस्तो क्रियाकलापले माटो उर्वर हुने भएकाले यसलाई कृषकको साथी भन्ने गरिन्छ । रातमा बढी सक्रिय हुने सालकले बर्सेनि विश्वभर झण्डै सात करोड कीरा-धमिरा खाने अनुमान छ ।
नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको सालक पाइछ। भारतीय सालक नेपालबाहेक चार देशमा र चिनियाँ सालक १० देशमा मात्र पाइन्छ । हालसम्म नेपालका ४३ जिल्लामा सालक पाइएको पुष्टि भएको छ ।
खजुरी चनाहामा भेटिएको सालकलाई मिथिला वाइल्डलाइफसँग आबद्ध भेटेरिनरी चिकित्सक पिङ्की मण्डल तथा नेपाल प्रकृति संरक्षण कोषका विकल्प कार्की र अमिर सडौलाले उपचार गरेका थिए । टाउकोमा चोट लागेको सालकले तीन दिनपछि मात्र हिँडडुल गर्न सकेको थियो ।
सालक छोडिएको स्थान वरपर केही दुलो देखिएकालेसकुसल रहेको अनुमान सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । धुनषाको दक्षिणी भेगमा सालकको वासस्थान नभएको हुँदा कसैले चुरे क्षेत्रबाट अनधिकृत रुपमा चोरीपैठारीको लागि सालक ल्याएको हुनसक्ने मिथिला वाइल्ड लाइफका देवनारायण मण्डल बताउँछन् ।
प्रतिक्रिया