काठमाडौँ। काठमाडौँको शंखरापुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा शंखरापुर वडा-३ का वडा सदस्य विजय लामा घाइते भएका छन् ।
सबस्टेशन निर्माणको विरोध गरिरहेका स्थानीयमा प्रहरीले बल प्रयोग गर्दा वडा सदस्य लामा घाइते भएको राप्रपा वडा समिति अध्यक्ष पवन वाइबाले बताएका छन् ।
अध्यक्ष वाइवाका अनुसार बिहीबार झडपपछि प्रहरीले स्थानीयलाई पक्राउ गरेर राखेको छ । सबस्टेशन निर्माणको विरोधमा लामो समयदेखि स्थानीय आन्दोलित छन् ।
उनीहरूले सबस्टेशन निर्माणका लागि वातावरण प्रभाव मूल्यांकन (इआइए) नगरिएको, भूमाफियाको चलखेलामा बस्तीमा निर्माण गरिएको भन्दै विरोध गरेका हुन् ।
तर, बल प्रयोग गरेर नेपाल विद्युत् प्राधिकरणले बिहीबारबाट सबस्टेशन निर्माण सुरु गरेको छ । शंखरापुर नगरपालिकाको बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा उक्त सबस्टेशन निर्माण गरिंदै छ ।
प्रतिक्रिया