काठमाडौँ। त्रिभुवन विश्वविद्यालय बीबीएस चौथो वर्षका परीक्षार्थी नतिजाको व्यग्र प्रतीक्षामा थिए ।
त्यसैबीच त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको परीक्षार्थी सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५१ सम्म ‘रिसर्च मेथडलजी’ विषयको उत्तरपुस्तिका हराएको पत्तो पायो ।
त्यसपछि नतिजा रोकेर कार्यालयले क्याम्पससँग समन्वय गरी गएको पुस २३ गते पुनः परीक्षा लिएको छ । जसका कारण गत वर्ष पुस २० बाट माघ ४ सम्म परीक्षा दिएर नतिजा कुरिरहेका स्नातक तहका विद्यार्थी थप निराश भएका छन् ।
‘दुई दिन अगाडि सूचना दिएर परीक्षा दिन लगाइएको छ र जाँचमा कति सामेल भए भन्ने यकिन छैन,’ नेविसंघ त्रिवि समितिका निवर्तमान सचिव योगन्द्र रावल भन्छन्, ‘त्रिविले विद्यार्थीको भविष्यमाथि बारम्बार खेलबाड गर्दै छ । दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष प्रदीप भट्टले परीक्षा नियन्त्रक पुष्पराज जोशीले गम्भीर लापरबाहीको जिम्मेवारी लिएर तत्काल नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । ‘परीक्षा नियन्त्रक (पुष्पराज जोशी) स्वयं उपस्थित भएर जाँच गराइएको छ,’ उनले भने, ‘पुनः परीक्षा लिएको दस दिनभित्र नतिजा प्रकाशित गराउँछु भनेर नियन्त्रकले प्रतिबद्धता जनाउनुभएकाले हामी धैर्य गरी बसेका छौं ।’
विद्यार्थीहरूले उत्तरपुस्तिका हराउने शिक्षक र कर्मचारीको छानबिन हुनुपर्ने र दोषीमाथि विश्वविद्यालयको ऐन, नियमअनुसार कारबाही गरिनुपर्ने माग गरेका छन् । बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयको मूलढोकामा कालो तुल टाँगेर विद्यार्थीले न्याय मागेको महिना दिन भएको छ ।
त्यस्तै त्रिविको लापरबाहीको विरोधमा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्रोतका अनुसार नियन्त्रक जोशी आफ्नो मोबाइल बन्द गरेर बाहिरबाटै कार्यालयको काम गर्दै छन् । त्रिवि स्नातक तह चौथो वर्षमा करिब डेढ लाख विद्यार्थी नतिजाको पर्खाइमा रहेका छन् ।
नतिजा प्रकाशनमा त्रिविको लापरबाही भनिसाध्य छैन । कार्यालयले स्नातक चौथो वर्षको नतिजा सार्वजनिक नगर्दै स्नातकोत्तर तहको भर्ना खोलेको छ । त्रिविको आम्दानीको मुख्य स्रोत भनेकै स्नातक तहका विद्यार्थीले बुझाउने शुल्क हो । त्रिविमा करिब ६ लाख विद्यार्थी पढ्छन् । त्यसमा सबैभन्दा बढी व्यवस्थापन संकायका रहेका छन् । त्यसपछि शिक्षाशास्त्र, मानविकी र कानुन संकायमा पढ्छन् ।
यस्तै अध्ययन संस्थानतर्फ विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान र वनविज्ञानमा सीमित विद्यार्थी पढ्छन् । स्नातकोत्तर तहको परीक्षा सेमेस्टर प्रणालीअनुसार हुने गरेको छ भने स्नातक तहमा वार्षिक र सेमेस्टर प्रणालीमा परीक्षा सञ्चालनमा छ । सबैभन्दा बढी विद्यार्थी वार्षिक परीक्षा प्रणालीमा रहेका छन् ।
प्रतिक्रिया