प्रदेश १ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेबारेको पत्र प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मुख्यमन्त्री कार्कीले पुस २९ गते प्रदेशसभामा विश्वासको मत लिने पत्र दर्ता गराएको बताएका हुन् । उनले त्यसका लागि प्रदेशसभा सचिवालय तयारी अवस्थामा रहेको पनि बताए ।
संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री कार्की एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रले केन्द्रीय शीर्षनेताहरूको निर्णयलाई चुनौती दिँदै प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने भन्दै सरकारमा तत्काल सहभागी नहुने अडानबीच मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
माओवादी केन्द्रले सरकारमा सहभागी नहुने अडान लिएपछि मुख्यमन्त्री कार्कीले एमालेका ताप्लेजुङ १(१) बाट निर्वाचित प्रदेश सांसद तीलकुमार मेन्याङ्बो, राप्रपा दलका नेता झापाका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेर ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रतिक्रिया