काठमाडौँ। विराट कोहलीले ७३ औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि भारतले पाहुना टोली श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय खेल ६७ रनले जितेको छ । जितसँगै ३ खेलको सिरिजमा घरेलु टोली भारतले १-० को अग्रता बनाएको छ ।
मंगलबार राति गुवाहाटीमा सम्पन्न पहिलो खेलमा ३ सय ७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रनमात्र जोड्यो । श्रीलंकाका लागि कप्तान डासुन सनकाले ८८ बलमा अविजित १ सय ८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
पाथुम निसान्काले ७२ रन बनाए । भारतका उमरान मलिकले सर्वाधिक ३ तथा मोहमद सिराजले २ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर ३ सय ७३ रन जोड्यो । भारतका लागि विशाल योगफल तयार पार्न विराट कोहलीले ८७ बलमा १ सय १३ रनको योगदान गरे ।
एकदिवसीयमा कोहलीको यो ४५ औँ तथा समग्रमा ७३ औँ शतक हो । उनले टी-ट्वान्टीमा एक तथा टेस्टमा २७ शतक पुरा गरेका छन् । कप्तान रोहित शर्माले ८३ तथा शुभमन गिलले ७० रनको योगदान गरे । श्रीलंकाका लागि कासुन रजिथाले सर्वाधिक ३ विकेट हात पारे । यी दुई टोलीबीचको दोस्रो खेल शनिबार इडेन गार्डेनमा हुनेछ ।
प्रतिक्रिया