काठमाण्डाै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गरे ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले कांग्रेसको याे निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताएका हुन् । उनले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिए । यदि त्यो जाल हो भने माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुने अध्यक्ष ओलीको भनाइ थियो ।
नेपाली कांग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उनले बताए। ओलीले भने, ‘म सबै सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु । त्यसमध्ये प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ । यदि यो समर्थनभित्र सदासयताबाहेक अरू कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ ।
ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । यसभित्र भोलिका निम्ति अरू खालको कुराहरू सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस पानीबाट, त्यस खोल्सीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’
अध्यक्ष ओलीले संसद् विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्ष पनि गरे ।
प्रतिक्रिया