काठमाण्डाै। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताए ।
शनिबार बिहान काठमाण्डाैको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन । यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको छ ।
यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन् ।’’
देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा प्रधानमन्त्रीले जोड दिए । सामाजिक चेतनाका निम्ति, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकहरूको महत्वपूर्ण योगदान रहँदै आएको पनि उनले बताए ।
त्यस्तै प्रचण्डले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गर्दै एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा आफू सचेत भएकाे पनि बाताए ।
“सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ । जनताको त्यो आशालाई सम्बाेधन गर्न तपाईँ हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ’’, उनले भने ।
प्रतिक्रिया