काठमाडौँ । माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ ।
छिट्टै पार्टी एकत हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको छ ।
दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाका नेता गंगा श्रेष्ठले बताए । नेता श्रेष्ठले भने- ‘पार्टी एकता छिट्टै गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।
यस्तै संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भएको हो । शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताएका छन् ।
अलि छिट्टै पार्टी एकता गर्ने दुवै अध्यक्षको चाहना रहेको उनको भनाई रहको छ । एकतापछिको पार्टीमा अध्यक्ष भट्टराईको स्थान कुन रहन्छ भन्नेबारेमा अहिले निर्क्यौल नगरेको भोली एकता हुने बेलामा तय गरिने भएको छ ।
एकतापछिको पार्टीको नाम के राख्नुपर्छ भनेर नेसपाको तर्फबाट प्रस्ताव गरेपनि पछि छलफलबाट टुङ्गो लाग्ने र पार्टी एकताका लागि एउटा कार्यदल बन्न सक्ने नेता श्रेष्ठको भनाई रहेको छ । यस्तै समाजवादी धारका सबै दलसँग पार्टी एकताका विषयमा छलफल गरेर जाने सहमति भएको युवा नेता विश्वदीप पाण्डेले बताएका छन् ।
पार्टी एकता गरेर जाने कुरामा दुवै अध्यक्षबीच सकारात्मक ढंगले कुरा भएको उनले बताए । अन्य दलसँग एकता प्रक्रिया अघि नबढेपनि नेसपा र माओवादीबीच एकता गरेर जाने निश्चित भएको नेता पाण्डको भनाई छ ।
प्रतिक्रिया