काठमाण्डाै। सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको हो ।
नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक ३१ महिनाका बालकको ज्यान गएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । गएको १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्रमण फैलिएको छ ।
सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका रहेका छन् । दादुरा एक सरुवा रोग हो । दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता-राता बिमिरा आउने लक्षण देखिन्छ ।
स्वास्थ्यकर्मीले दादुरा छिटो सर्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छन् ।
सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुबेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । तर नेपालगञ्जमा सङ्क्रमित २९ जनामध्ये २५ जनाले खोप नलगाएको समेत भेटिएको छ ।
प्रतिक्रिया