लन्डन । लन्डनस्थित नेपाली दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी ‘युके सिजनल भिसा मिति परिवर्तन’ सम्बन्धी जारी खबरप्रति लन्डन दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।
गत पौष १८ गते प्रकाशित सूचनामा बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने कम्पनीले दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी नक्कली सूचना प्रकाशित गरेका थिए ।
सन् २००२२ का लागि सिजनल भिसा अर्थात मौसमी भिसाको लागि आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरूको अन्तरवार्ता मिति परिवर्तन भएको भन्दै तिनीहरूले नक्कली सूचना जारी गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासले ‘युके सिजनल भिसा मिति परिवर्तन बारेमा’ कुनै पनि आधिकारिक सूचना जारी नगरेको हुँदा उक्त झुट्टा सूचनालाई आधार मानी भिसा आवेदन नगर्न तथा नगराउन आग्रह गरेको छ । ‘यस सूचनालाईनै आधार मानी वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा यस राजदूतावास जबाफदेही नहुने ब्यहोरा समेत जानकारी गराइन्छ’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।
दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसके पनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको दुतावासको अनुमान रहेको छ ।
यस कार्यमा संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको लन्डनस्थित नेपाली दूतावासका द्वितीय सेक्रेटरी रामबाबु नेपालले बताए ।
पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाउने गरेको पनि पाइएको छ ।
बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम छ ।
प्रतिक्रिया