पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।
वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै एमाले महानगर कमिटीले अधिकारीमाथि कारबाहीको माग गरेको हो ।
एमाले महानगर कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक सामाजिक, सांस्कृतिक रूपले महत्त्वपूर्णको हाम्रो वडामा वडा समिति सञ्चालन गर्ने क्रममा वडा अध्यक्ष भरतबहादुर अधिकारीले वडा सदस्यहरूलाई पटकपटक अमयार्दित अमानवीय, गैर कानुनी शब्दहरू प्रयोग गरेर दुर्व्यवहार गर्दै आउनुभएको विषयले हाम्रो पार्टी नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ ।
पदीय दायित्व भुलेर गर्ने यस्तो हर्कतको प्रति कारबाहीको माग गर्दछौं ।’ वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा अध्यक्ष र अन्य सदस्यहरूको संवाद हुँदै गर्दा वडा अध्यक्षले अपमानजनक शब्द बोलेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया