काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा भएको एउटा सडक दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान उज्यालो नहुँदै भएको उक्त दुर्घटनामा ती युवती विभत्स तरिकाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार जनवरी १ तारिखको बिहान सवा तीन बजेतिर दिल्लीको सुल्तानपुरीमा एउटा कारले स्कुटरलाई ठक्कर दिएको थियो ।
स्कुटरमा २० वर्षीया अञ्जली सिंह सवार थिइन् । कारसँग स्कुटर ठोक्किएपछि अञ्जलीका लुगा कारको पांग्रामा अल्झिए ।
दुर्घटनापछि कार रोक्नुको साटो चालकले कार कुदाइरहे । पांग्रामा अल्झेको कपडासँगै अञ्जलीलाई पनि कारले घिसार्यो । करिब ४ किलोमिटर कुदेपछि चालकले गाडी रोके ।
त्यतिबेलासम्म अञ्जलीका सबै लुगा शरिरबाट छुटिसकेका थिए । त्यसपछि कारमा सवारहरूले उनको शव सडकमा छोडेर भागेका थिए ।
प्रत्यक्षदर्शीहरूले खबर गरेपछि प्रहरीले पछि कारमा सवार पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूले अञ्जली कारको पांग्रामा अड्किएको आफूहरूले थाहा नपाएकाले गाडी कुदाएको प्रहरीलाई बयान दिएका छन् ।
मृतककी आमा रेखाले भने छोरीको मृत्यु दुर्घटनामा नभई उनको ह त्या भएको बताएकी छन् । अञ्जली घरकी जेठी छोरी थिइन्। उनका बुवाको निधन भइसकेकाले उनी परिवारको सहारा बनेकी थिइन् ।
‘मेरी छोरी राती अबेर फर्किन्छु भनेर गएकी थिई, बिहान त उसको मृत्युको खबर आयो,’ रेखाले भनिन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया