काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् ।
आज बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुसमा भने तरलतामा चुनौती आउने बताएका हुन् । तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको उनको भनाइ थियो ।
गभर्नर अधिकारीले गएको आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब रुपैयाँ बजरमा पठाएको बताए । राष्ट्र बैंकले आवश्यक कामहरू गरिरहे पनि अझै बजारमा सहजता भने भइनसकेको उनले बताए ।
उनले भने, ‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुसमा हामीलाई चुनौती रहन्छ । क्यालेन्डरअनुसार पुस महिनामा ३० अर्बको इस्यु रहेको छ । तर हामी कसरी तरलताको असरलाई सहज गर्ने भन्ने कुरामा लागिपरेका छौँ । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ । तैपनि बजारमा त्यो खालको सहजता भइरहेको छैन । कारण भनेको बीओपी हो ।
पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स इन्फ्लो पाइरहेका छौँ । जसको असरस्वरूप हामीलाई तरलतामा सहजता भएको छ । यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ । लगेको ऋण केही न केही कोषमा तिरिनुपर्छ, तबमात्र तरलता सहज हुन्छ । बजारलाई हामी सहज बनाउँछौँ नै । तर बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरूलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन । झन् गाह्रो पर्छ ।’
गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताए । उनले अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको पनि बताएका छन् ।
प्रतिक्रिया