काठमाडौँ। नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरूको सूची माग गरेपछि सोलुखुम्बु कांग्रेसमा हलचल मच्चिएको छ । आइतबार कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरूको सूची मागेको थियो ।
कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले केन्द्रीय सदस्य , जिल्ला सभापति लगायतमाथि कारबाहीको माग गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवार बलहादुर केसीलाई केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पाले असहयोग र अन्तर्घात गरेको जिल्ला कार्यसमितिको जिकिर छ ।
सोलुखुम्बुमा गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी एमालेका मानवीर राईसँग पराजित भएका छन् । अन्तर्घात र असहयोगका कारण केसी पराजित भएका पदाधिकारी एवं शुभेच्छुक संस्थाका प्रमुखको संयुक्त बैठकले निश्कर्ष निकालेको छ ।
जिल्लाको संस्थापन इतर पक्षले अब नाम्गेल जाङ्बु शेर्पालाई जिल्ला सभापति भन्न नसकिने उल्लेख गरिएको छ । जिल्ला कार्यसमितिले उनीहरूमाथि कारबाहीको मागसहित पार्टीको अनुशासन समितिमा उजुरी पठाउन लागिएको जिल्ला सचिव युवराज घिमिरेले बताए ।
उनले भने, ‘केन्द्रीय अनुशासन समितिले पुस १५ गतेभित्र सूची पठाउन भनेको छ । अन्तघातीलाई त्यसै छोड्दा भोलि पनि पार्टी हार्छ ।’ जिल्ला सभापति संस्थापन पक्ष भएपनि जिल्ला कार्यसमितिमा केसी निकटको बहुमत छ ।
जिल्ला सचिवद्वय युवराज घिमिरे र भलाकाजी राईले एक विज्ञप्ति जारी गरेर पनि कारबाहीको माग गरिसकेका थिए ।
प्रतिक्रिया