जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् ।
धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका हुन् । विजयी महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजेन्द्र २१ हजार ५१८ मतमा सीमित भए ।
संविधानसभा निर्वाचन-२०७० मा पनि सर्लाही-५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । यो हारले ६५ वर्षीय राजेन्द्रको आगामी राजनीति यात्रा चुनौतीपूर्ण बनेको छ ।
यद्यपि उनी राजनीतिमै सक्रिय रहने स्वकीय सचिव अरविन्द साहले बताए काछन् । ‘चुनावमा हार जित हुनु स्वभाविक हो । सर्लाही फर्किएपछि जनताले उहाँलाई उत्साहजनक मत दिएको छ,’ साहले भने, ‘अब संगठन बनाउन लाग्ने र जनताकै बीचमै रहने भन्नुभएको छ ।’
२०७० मा चुनाव लड्दा राजेन्द्र सदभावना पार्टी नेपालका अध्यक्ष थिए भने महिन्द्र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष । मधेश आन्दोलनपछि मधेस केन्द्रित ६ दल मिलेर महन्थ ठाकुरको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । राजेन्द्र र महेन्द्र एउटै दलका सहयात्री बन्न पुगे । २०७४ को निर्वाचनमा महिन्द्र सर्लाही-२ बाट लड्ने भएपछि राजेन्द्रले मधेश आन्दोलनको केन्द्र धनुषा ३ रोजे ।
मधेश आन्दोलनको रापतापको प्रभावले राजेन्द्र २ हजार ९०३ मतान्तरले विमलेन्द्रलाई पराजित गर्दै सांसद बने भने महिन्द्र सर्लाही-२ बाट चुनिएर आए ।
प्रतिनिधिसभाको त्यही कार्यकालमा मधेशकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि जसपाका नेताहरु दुई खेमामा विभावित भए । राजेन्द्र, महन्थ ठाकुरतिर लागे भने महिन्द्र, उपेन्द्र यादवतिर ।
उपेन्द्र यादव नेतृत्वको समूहले जसपाको वैधानिकता पाएपछि ठाकुर समूहले लोसपा बनायो । महिन्द्र भने पछिल्लो समय उपेन्द्रसँग पनि छुट्टिएर बाबुराम भट्टराईले बनाएको नेसपातिर लागेर माओवादीको चिह्नबाट चुनाव लडे ।
गत वैशाखको स्थानीय चुनावको नजिताले धनुषा ३ मा पार्टीको अवस्था कमजोर देखेपछि राजेन्द्र पनि सर्लाही-२ मा फर्किन चाहे । कारण थियो, अघिल्लो पटक आफूलाई जिताउन भूमिका खेलेकी जुली महतोले यो पटक धनुषा ३ बाट प्रत्यक्ष उम्मेदवार बन्न चाहनु र अनि एमालेसँग चुनावी तालमेलको प्रयास चल्नु ।
प्रतिक्रिया