• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    नेपालगञ्ज बम विष्फोट घटनाबारे घरबेटी श्रीकला मल्लले दिइन यस्तो बयान

    797
    SHARES


    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भृकुटीनगरको एक घरमा डेरा गरी बस्ने विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लुकाएर राखेको बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । बुधबार बेलुकी दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट भएको हो ।

    बम विष्फोट हुँदा डेरा गरी बस्ने सल्यानको बागचौर नगरपालिका-२ घर भएका २७ वर्षीय डिल्लीबहादुर डीसी र उनका साथी कैलालीको घोडाघोडी नगरपालिका-१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर छ ।

    उनीहरुको उपचार नेपालगञ्ज नर्सिङहोमको आईसीयूमा राखेर भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । घरधनी श्रीकला मल्लका अनुसार डीसी एक वर्षदेखि सो घरमा बस्दै आएका थिए । उनले महेन्द्र क्याम्पसमा पढ्ने विद्यार्थी भएको भनेर चिनाएका थिए ।

    ‘उनको कोठामा कहिलेकाहिँ अरु साथीहरु पनि आउँथे । तर मैले को हुन् भनेर निदिखुदी लगाउन्नथें,’ मल्ल भन्छिन्, ‘बुधबार बेलुकी पनि चार जना आएका थिए ।’

    बेलुका माथिल्लो तलामा खाना पकाइरहेको बेला विष्फोटको ठूलो आवाज सुनियो । ‘घर त थररर गर्‍यो । ग्याँस सिलिण्डर पड्कियो होला भन्ने ठानें । म दगुर्दै तल्लो तलामा ओर्लिएँ । तल त धुवैँधुवाँ थियो । मान्छेहरु रगताम्मे थिए,’ श्रीकलाले घटनाबारे भनिन् ।

    ‘त्यतिबेलासम्म पनि मैले ग्यास सिलिण्डर नै पड्किएर घाइते भएछन् भन्ने ठानें । ए अस्पताल लगिदेऊ, रिक्सा बोलाइदेऊ न भन्दै अरु मान्छेहरुलाई भन्न थालें । दुई जना त बाइक चढेर पो भागे ।’

    एसपी भन्छन्-हामीले सूचना पाएर खोज्दै थियौं
    बम विष्फोटको सूचना पाएलगत्तै बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी पनि घटनास्थल पुगेका थिए । प्रहरीले प्रेसर कुकर बम विष्फोट भएको निष्कर्ष निकाल्यो ।

    उनले उनीहरु विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरु रहेको बताए । उनका अनुसार चुनाव बहिस्कारको अभियानमा लागेका विप्लवका कार्यकर्ताहरुले नेपालगञ्जका चोकहरुमा बम राख्ने तयारी गरेका थिए ।

    ‘आठ-दश वटा एकैचोटी नेपालगञ्जमा पड्काउने यिनीहरुको तयारी थियो । यो इन्फर्मेसन पाएपछि हामी खोज्दै आयौं । हामीले खोज्दैछौं भन्ने कुरा यिनीहरुले थाहा पाए,’ एसपी अधिकारीले भने, ‘यिनीहरुले लुकाउन र भाग्न खोज्दाखोज्दै तयारी नपुगेको कारणले चाँडै पड्क्या हो ।’

    उनले ती बम हानिकारक खालका भएको पनि बताए । ‘त्यहीभएर उनीहरुलाई चोट लाग्यो । रगताम्मे भएको देख्नु भएको छ । यी कुनै सडकमा चोकमा पड्केको भए त्योभन्दा आपत्ती ठूलो केही हुने थिएन,’ उनले भने ।

    घटनास्थलमा नपड्किएको अवस्थाका दुईवटा बम फेला परेको र ती बम राति नै नेपाली सेनाले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

    उनीहरुको कोठाबाट चन्दा संकलनका लागि प्रयोग गरिएको रसिद र पार्टीको ब्यानर समेत बरामद भएको छ । प्रहरीका अनुसार ५ हजारदेखि ५० हजार रुपैयाँसम्म चन्दा रसिद कटाएको पाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया