काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् ।
स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका थिए । तर, अष्ट्रेलियामा रहेका दूतराजले आज बिहानै लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि !’
आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताए ।
‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दु:खी बनाउने गरेको उनले बताए ।
उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो पनि गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो-सानो दु:खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई !’
गलत बुझाइका कारण समाचार आएको दूतराजको दाबी छ । अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएको थियो ।
प्रतिक्रिया