काठमाडौँ। इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ ।
द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन् । ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन् ।
साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए । बारीमा उनले श्रीमतीका चप्पल, ज्याकेट, रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाएका थिए ।
प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखिएको थियो ।
उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
पाइथन सर्प सात मिटरसम्म लामो हुन्छ। यसले आहाराका रूपमा स-साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना बिरलै हुने गर्छन् ।
प्रतिक्रिया