• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विचार-ब्लग

    वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ आमा !

    1.6K
    SHARES


    असोज २२ गते दिउँसो कमरेड लोकेशले फोन गर्नुभयो– दाइ ! हृदयाघातका कारण आमाको निधन भयो । …म जाँदैछु ।
    अनन्य कमरेड लोकेशकी ममतामयी आमा, हामी सबैकी आमाको असामयिक निधको खबर सुन्नेबित्तिकै म स्तब्ध भएँ । मेरो गला अवरुद्ध भयो । म अरू केही भन्न नसक्ने अवस्थामा पुगेँ । त्यसपछि कमरेड भीमलाई फोन गरेर जानकारी गराएँ । उहाँसँग कमरेड लोकेशले आमाको स्वास्थ्यमा समस्या आउनेबित्तिकै उपचार गर्ने भनेर पहिला नै सहयोगका लागि सम्पर्क गरिसक्नु भएको रहेछ । केहीबेर आफूलाई संयम तुल्याउँदै पार्टी केन्द्रीय कार्यालयमा खबर गरेँ । असोज २७ गते पार्टी केन्द्रीय कार्यालयले आमाको श्रद्धाञ्जली सभामा मलाई जान निर्देशन गर्यो ।

    पर्वतको दुग्लुङ गाउँसम्म पुग्नु मेरा लागि पीडा र गौरव भयो । जाजरकोटबाट १५ दिन पैदल हिँडेर पर्वतको त्यही भेगको एक गाउँमा अभियान टोलीको सम्पर्कमा पुगेको थिएँ । करिब १९ वर्षपहिला महान् जनयुद्धका क्रममा एक विशेष अभियानमा पर्वतमा ४० दिन खटेको थिएँ । महान् जनयुद्धको त्यो विशिष्ट अभियानले पर्वतका जनतासँग हातेमालो गर्ने अवसर प्राप्त भएको थियो । लामो समयदेखि नै एउटै विचार, लक्ष्य र क्रान्तिले कमरेड लोकेशसँग अनन्य मित्रता र अटुट सामीप्य कायम भएको छ । आमाको असामयिक मृत्युको सन्दर्भले पुनः महान् जनयुद्धमा अमर सहिदहरूको रगतले सिञ्चित भूमि पर्वत दुग्लुङमा पुग्दा पीडा र गौरवको अनुभूति भयो ।

    २८ असोजमा म काठमाडौँबाट पोखरा पुगेँ । पोखराबाट २९ गते बिहान ७ बजे कमरेडहरू सुजन, रण, हरि, लोकेन्द्र, सूर्य र म पर्वततर्फ प्रस्थान गर्यो । मेरो मानसपटलमा विगत र वर्तमानका पीडा र गौरवका सबै चित्रहरू घुमिरहेका छन् । आमाको असामयिक निधनले असह्य पीडा, विगत विशेष अभियानमा खटेको भूमिमा पुग्न पाउँदा र परम्परागत पुरानो संस्कृतिका विरुद्ध कमरेड लोकेशले विद्रोह गरेको खबरले गौरव लागिरहेको छ । ११ बजे हामी कमरेड नवराजको घरमा कमरेड अनन्तको पहिलो सम्पर्कमा पुग्यौँ । १२ बजे कमरेड लोकेशको शोकाकुल घरमा पुग्यौँ । केही समयपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पर्वतको आयोजनामा आमा फूलमतीको श्रद्धाञ्जलीसभा प्रारम्भ भयो । उक्त सभामा शोकाकुल परिवारजन एवम् आफन्तहरू, सहिद परिवार, विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ता, स्थानीय जनता र हाम्रो जिल्ला एवम् स्थानीय पार्टीको सहभागिता भयो । उक्त कार्यक्रममा वक्ताहरूले श्रद्धाञ्जली मनतव्यका क्रममा पैँयुखोलाको वामपन्थी आन्दोलनका एक अगुवा तथा समाजसेवी बुबा लक्ष्मण बिक र आमा फूलमती विकका महत्वपूर्ण योगदानहरूको सबैले मुक्तकण्ठले चर्चा–परिचर्चा गरे । कमरेड लोकेशले ममतामयी आमाको सम्झना र स्मृतिमा ‘फूल फाउन्डेसन’ घोषणा गर्दै एउटा कविता वाचन गर्नुभयो । त्यसले सबैलाई भावविह्वल बनायो । आँसु नियन्त्रण गर्दा मेरो मुटुको धड्कन बढ्यो । सहभागी सबैका आँखामा आँसुको भेल बग्यो । एकछिन सबैलाई पुनः स्तब्ध बनायो । लोकेशद्वारा वाचित कविता यस्तो थियो :

    म, कमाउँछु भनेर ढाँटे

    म, कमाउँछु भनेर ढाँटे
    म, जमाउँछु भनेर ढाँटे
    म, रमाउँछु भनेर ढाँटे

    म, आउँछु भनेर ढाँटे
    हात समाउँछु भनेर ढाँटे
    धेरैतिर घुमाउँछु भनेर ढाँटे
    खुसी थमाउँछु भनेर ढाँटे
    यस्तै-यस्तै धेरै बहानामा ढाँटे

    हुनत आमाले पनि ढाँटिन्–
    भोकै, खाएँ भनेर ढाँटिन्
    नाङ्गै, लाएँ भनेर ढाँटिन्

    रुँदै, रोइनँ भनेर ढाँटिन्
    रोगी, होइन भनेर ढाँटिन्
    काम, छोइनँ भनेर ढाँटिन्

    यतिसम्म ढाँटिन्–
    पूरा ठीक छु भनेर ढाँटिन्
    थुप्रै वर्ष टिक्छु भनेर ढाँटिन्

    आफ्ना हरकष्ट लुकाएर ढाँटिन्
    आफैँभित्र आफँै सुकाएर ढाँटिन्
    हामीलाई छोडी कतै जान्नँ भनी
    एकै वचन नबोली झुक्याएर ढाँटिन्

    मानव समाजको विकासप्रक्रियासँगै उत्पादन सम्बन्ध र उत्पादनका साधनमा भएको विकासले मानव समाज दुई विपरीत वर्गमा विभक्त छ । यो समाजका सबै चीजहरू वर्गीय छन् । मानव चेतना, विचार, दृष्टिकोण र संस्कृति पनि वर्गीय छ । एउटा त्यस्तो दृष्टिकोण छ जसले मानिस मृत्युपछि कथित वैकुण्ठ वा स्वर्गमा जान्छ भनेर भ्रम पैदा गर्ने गर्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण जसले सत्य एवम् यथार्थ छ, त्यसलाई मात्र स्वीकार गर्दछ । त्यसले कथित वैकुण्ठ र लुटको स्वर्ग एवम् पुरानो संस्कार–संस्कृतिका विरुद्ध विद्रोह गर्न सिकाउँछ । कमरेड लोकेशलाई पनि आमा र बुबाको मृत्युको सन्दर्भले पुरानो संस्कार–संस्कृति तथा कथित वैकुण्ठ एवम् स्वर्गका विरुद्ध विद्रोह गरायो । महान् जनयुद्धले निर्माण गरेको नयाँ मूल्य–मान्यता र संस्कार–संस्कृतिका पक्षमा अरूलाई अघि बढ्न प्रेरित ग¥यो ।

    नयाँ संस्कार–संस्कृतिको आधार निर्माणमा अर्को एउटा इँट थपिएको छ । चिनियाँ येनान र जनयुद्धको थबाङमा आज सिर्जनानगरहरूको सर्वत्र विस्तार भइरहेको छ जसले हामीहरूलाई नयाँ मूल्य–मान्यता र संस्कार–संस्कृतिमा अघि बढ्न प्रेरित गर्छन् । त्यसमा अर्को नयाँ दुग्लुङ थपिएको छ । कमरेड लोकेशले आमा फूलमती विक र बुबा लक्ष्मण विकको स्मृतिमा ‘फूल फाउन्डेसन’ को घोषणा र स्थापना गर्नुभएको छ । समाजसेवी आमा–बुबाको सपना त्यसले साकार गर्नेछ । त्यसले कथित ठूलाबडाहरूलाई विभूषित एवम् सम्मान गर्ने छैन । त्यहाँका विपन्न र जेहेन्दार विद्यार्थीलाई बुबा लक्ष्मण विक र आमा फूलमतीको स्मृतिमा छात्रवृत्ति प्रदान गर्नेछ । यो एक समाजसेवाको नमुना हो । नयाँ मूल्य–मान्यता र संस्कार–संस्कृतिको आयाम हो ।

    आज मानिसको चाहनाका बारेमा विभिन्न विद्वान्हरूले विश्लेषण गरिरहेका छन् । युवल नूह हरारीले जोड दिएर भनेका छन्– मानिस दीर्घजीवी, देवत्व र सुखी एवम् समृद्ध जीवन चाहन्छ तर रोग, भोक र युद्धले ती चाहना पूरा हुन दिँदैनन् । हरेक मानिसका लागि मृत्यु प्रिय हुँदैन । विश्वब्रह्माण्डमा जन्मेका सबै प्राणी एवम् वस्तुहरूको मृत्यु र अन्त्य अनिवार्य छ । जन्मपछि मृत्यु अनिवार्य प्रकृतिको सार्वभौम नियम हो । सबै जन्म र मृत्यु विशिष्ट हुँदैनन् । आमा फूलमतीको मृत्यु विशिष्ट छ । आमा स्वयम्ले जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय रूपमा सङ्घर्ष गर्नुभयो । देश, समाज र क्रान्तिका खातिर महत्वपूर्ण योगदान पनि गर्नुभयो । आमा फूलमतीले निजी परिवार, जीवन आदि गौण बनाउने छोरा कमरेड लोकेश जन्माउनुभयो । कमरेड लोकेशले आफ्नो जीवन आत्मत्यागमय ढङ्गले देश, जनता र क्रान्तिमा समर्पित गरिरहनुभएको छ । क्रान्तिकै लागि आमाले पनि आफ्ना सन्तानबाट प्राप्त गर्ने तुच्छ व्यक्तिगत वैभव र ऐसआरामको तिलाञ्जली गर्नुभयो । हजारौँमा देश, जनता र क्रान्तिप्रति दृढता र कार्यतत्परता भएको एक छोरा लोकेश बनाउन सफल हुनुभयो ।

    सबै जन्म र मृत्यु एउटै हुँदैनन् । केही मृत्यु जो भूगोल र परिवारको सीमारेखा पार गरेर सबैमा शोक एवम् समवेदनामा व्यक्त हुन्छ । केही मृत्यु जसले नितान्त परिवार एवम् आफन्तजनलाई मात्र शोकाकुल गर्दछ । आमा फूलमतीको मृत्युले देश, जनता र पार्टीलाई स्तब्ध र शोकाकुल तुल्यायो । सबैमा समवेदना जगायो । पीडालाई शक्तिमा बदल्ने साहस देखायो । सपना साकार गर्ने सङ्कल्प बढायो । कथित वैकुण्ठ र स्वर्गका विरुद्ध विद्रोह जन्मायो । माक्र्सवाद र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रवचन दिने पण्डितहरूलाई सबक सिकायो । आमाको मृत्युले नयाँ संस्कृतिको फूल फुलायो । नयाँ समाज र संस्कृतिको फूलैफूलको बगैँचा निर्माण भइरहेको छ । तपाईंको मृत्यु पर्वतको हम्पाल लेकझैँ अटल एवम् उच्च छ आमा ! त्यसैले आमा, तपाईं भौतिक रूपले हामीबीच नरहे पनि तपाईंको सपना कहिल्यै मर्नेछैन । नयाँ समाज र संस्कृतिको फूलको बगैँचा निर्माण गर्ने सपना हामी साकार गर्नेछौँ । हामी कुम्भकर्ण निद्रामा सपना देख्ने मान्छे होइनौँ । हाम्रो सपनाले अहोरात्र सुत्नै दिँदैन । रूखले जरा होइन, पात बदलेझैँ हामी सपना साकार गर्न सिद्धान्त बदल्ने मान्छे होइनौँ, नयाँ राजमार्ग बनाउन सक्छौँ र बनाउनेछौँ । ‘देशद्रोही आमा’ कथामा गोर्कीले ‘म सधैँ विजय र मेरी आमालाई माया गर्छु’ भनेझैँ लाहुरे होइन, योद्धा जन्माउने तपाईं आमालाई हामी सबै सधैँ सम्झना र माया गर्नेछौँ । योद्धा जन्माउने तपाईं आमाको कुनै भूगोलको घेरा छैन ।

    तपाईं नेपाल आमा बन्न सफल हुनुभयो । जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय विषमता र विभेदको सीमारेखा हामी तोड्नेछौँ आमा ! दलाल पुँजीवादी सत्ताको खरानीमा वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ आमा ! सगरमाथाको शिखरमा विजयको झन्डा फहराउनेछौँ आमा ! तपाईंका सपनाहरू देश, जनता र क्रान्ति नै हुन् । ती सबै साकार गर्नेछौँ । विचारयुक्त नयाँ क्रान्तिको दीपले प्रज्वलित गरेर देश र जनताको सुखी मात्र होइन, खुसी जीवन र सुन्दर भविष्य निर्माण गर्नेछौँ ।
    ३ कात्तिक, २०७९



    प्रतिक्रिया