• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सन्दीपलाई आज फेरी अदालत लगिदै, के छ प्रहरीको तयारी

    351
    SHARES


    काठमाडौँ । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ ।

    थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सन्दीपविरुद्ध अनुसन्धान बाँकी रहेकाले म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ । प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।

    २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो । दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । जसको अवधि मंगलबार सकिएको छ । तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो ।

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो । भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए ।

    उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो । जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो । यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ । त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया