• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनमा के-के हुन्छ ?

    444
    SHARES


    काठमाडौँ। चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीसीपी) का शीर्ष नेताहरू आइतबारदेखि सुरु भएको र सात दिनसम्म चल्ने २० औँ राष्ट्रिय सम्मेलनको लागि ग्रेट हल अफ पिपुल्समा भेला भएका छन् ।

    सम्मेलनमा कैयौँ गोप्य बैठकपछि शक्तिशाली पदहरू र समितिको नेतृत्व र सदस्यहरु फेरबदल हुनेछन् । यही भेलाले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने बताइएको छ । भेलामै आगामी पाँच वर्ष पार्टीले लिने दिशाबारे पनि खाका प्रस्तुत गरिन्छ । सम्मेलनमा धेरैको नजर सी तेस्रो कार्यकालको लागि चुनिए भने उनका सहयोगी को नियुक्त होलान् ?सी महासचिवबाट अध्यक्षका रुपमा चुनिने पो हुन् कि भन्ने कुरामा हुनेछ ।

    त्यस्तै अर्थतन्त्रमा असर गरिरहेको शून्य-कोभिड नीति र ताइवानलाई कब्जा गर्ने सीको बाचाबारे कस्तो नीति अंगिकार होला भन्नेबारे पनि चासो छ ।

    के हो राष्ट्रिय सम्मेलन ?

    राष्ट्रिय सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीले हरेक पाँच वर्ष सम्पन्न गर्ने सबैभन्दा महत्त्वपूर्ण बैठक हो । बैठकमा नयाँ पदोन्नति र पार्टी नेतृत्वको चयनदेखि प्रमुख नियुक्तिहरू घोषणा हुन्छ । बैठकमा पार्टीको कामको मूल्यांकन हुनेछ भने आगामी पाँच वर्षको रूपरेखा पनि तयार पारिन्छ । बैठक प्रायस सधैँ शरद ऋतुमा हुन्छ,र यस वर्षको महाधिवेशन तुलनात्मक चाँडै भएकोले केही महत्वपूर्ण निर्णय भएको संकेत गर्छ । साथै पार्टीभित्रका सम्भावित असहमति वा अन्तर पार्टी संघर्ष मिलेकाले पनि चाँडै सम्मेलन आयोजना भएको हुनसक्छ ।

    सम्मेलनमा को–को सहभागी हुन पाउँछन् ?

    चिनियाँ कम्युनिष्ट पार्टीका लगभग २३०० वरिष्ठ पार्टी सदस्यहरू बेइजिङको ग्रेट हल अफ द पिपुलमा भेला भएका छन् । उनीहरुले चीनभरका करोडौं पार्टी सदस्यको प्रतिनिधित्व गर्छन् । उपस्थितमध्ये २०० जना केन्द्रीय समिति सदस्यसँग मतदान अधिकार हुन्छ भने अन्य १७० वैकल्पिक सदस्य पनि उपस्थित हुन्छन् ।

    केन्द्रीय समितिसँग २५ सदस्यीय पोलिटब्युरो(पोलिटिकल ब्यूरोको छोटो रुप अर्थात राजनीतिक व्युरो) चयन गर्ने जिम्मेवारी हुन्छ । पोलिटब्युरोका सात जना देशको सबैभन्दा शक्तिशाली निर्णायक इकाई अर्थात ‘पोलिटब्युरोको स्थायी समिति (पीएससी)’ मा नियुक्त हुन्छन् ।

    ​‘जति माथिको समितिमा रह्यो व्यक्ति त्यति नै शक्तिशाली हुन्छ,’ हङकङमा बस्ने चिनियाँ राजनीतिका विशेषज्ञ रायन म्यानुएलले भने । म्यानुएलका अनुसार नेतृत्व परिवर्तन कुनै कम्पनीले उमेर पुगेकालाई सेवानिवृत्त गरेर तल्लो तहकालाई पदोन्नति गरेर ती पदमा पदस्थापना गरेजस्तै हुन्छ । तथापि निर्णय अहिले सम्मेलनमा भए पनि सम्पूर्ण परिवर्तनहरु आगामी वर्ष मार्चमा हुने नेसनल पिपुल्स कंग्रेससम्म सार्वजनिक गरिने छैनन् ।

    सबैको बरीयता तोकिएको हुन्छ र यसमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवका रूपमा सी सबैभन्दा शीर्ष स्थानमा हुनेछन् । सीको भूमिका थप केन्द्रीय सैन्य आयोगको अध्यक्ष र जनवादी गणतन्त्र चीनको राष्ट्रपतिको पद पनि हुनेछ । अघिल्ला दुई भूमिका यही सम्मेलनबाट नवीकरण हुनेछ भने मूलतः सेरेमोनियल भूमिकाको (तथापि यस पदको विदेशी भ्रमणमा भने अर्थ हुने गर्छ) राष्ट्रपतिको घोषणा भने अर्को वर्षको नेसनल पिपुल्स कंग्रेसबाट सार्वजनिक हुनेछ ।

    चीनमा त्यहाँको सत्तारुढ कम्युनिष्ट पार्टीका महासचिव पद सबैभन्दा शक्तिशाली पद हुन्छ,जसको कम्युनिष्ट पार्टीभित्र लगभग पूर्ण नियन्त्रणजतो हुन्छ । त्यसबाहेक सम्मेलनमा अन्य विभिन्न महत्त्वपूर्ण राजनीतिक र सुरक्षा निकायका नेतृत्व पनि चयन हुन्छ । केही पद भने अधिकारभन्दा पनि प्रतीकात्मक हुन्छन् । सन् २०१६ सीलाई ‘कोर लिडर’ पदवि दिएर उनको हैसियत विगतका माओत्सेतुङ,देङ सियाओपिङ र जियाङ जेमिन बराबर हैसियतमा उठाइएको थियो ।

    केही विश्लेषकहरूले यस सम्मेलनबाट माओकालीन ‘पार्टी अध्यक्ष’ पदवी पुनः सुरु हुने आशंका गरेका छन् । यदि सो पद पुनरुत्थान गरियो भने चिनियाँ कम्युनिष्ट पार्टीको शक्ति संरचनामा परिवर्तन आउनेछ । तर त्यसले चुनौतीहरू पनि निम्त्याउने भियना विश्वविद्यालयका डा लिंग लीले बताए ।

    सम्मेलनका बैठकहरुमा के छलफल हुन्छ ?

    सम्मेलनका धेरै कुराहरु पूर्ण रूपमा बन्द ढोका पछाडि हुन्छ । अघिल्लो महाधिवेशन सीको लामो भाषणबाट सुरु भएको थियो र त्यसमा पार्टीको सफलता र आगामी कार्यकालका लागि यसका प्राथमिकताहरु उल्लेख गरिएको थियो ।

    ‘मेरो विचारमा समग्र विषयवस्तु ‘चिनियाँ राष्ट्रको महान कायाकल्प’का रुपमा प्रस्तुत हुनेछ । त्यसले अर्थतन्त्रलाई प्रभावित बनाउनेछ । यस लक्ष हासिल गर्नको लागि चीनको अर्थतन्त्र र सैन्य तागत निरन्तर सबल भइरहनुपर्छ । विश्वमा चीन एक प्रभावशाली शक्तिका रुपमा अघि आउनुपर्छ ,’ क्यालिफोर्निया विश्वविद्यालय–सान डियागोका राजनीतिशास्त्रका प्राध्यापक भिक्टर सिंहले भने ।

    सीले सम्मेलनअघि चीनमा पूर्ण स्थिरता र सकारात्मकता रहेको सन्देश दिन खोजेका थिए,तर त्यो हुन सकेन । उनको दोस्रो कार्यकालमा,सीले चीनमा चरम गरिबी उन्मूलनको घोषणा गरे । कोभिड–१९ बाट हुने मृत्युलाई न्युन राख्न सफल भए ।

    त्यसका साथसाथै उनले प्राविधिक,विकास र शिक्षा उद्योगहरूमा हस्तक्षेपहरू सुरु गरे । हङकङमाथिको पकड बलियो बनाए । तर अर्थव्यवस्था समस्यामा देखिन थालेका छन् । शून्य–कोभिड नीतिले निराशा बढाइरहेको छ । र,ताइवानलाई चीनमा मिलाउने मुद्दामा देशभित्र आम समर्थन रहे पनि गत महिना ताइवान वरपर भएको सैन्य अभ्यासले पनि केही घरेलु चिन्ताको कारण बनायो ।

    ‘हामीलाई थाहा छ कि सी जिनपिङ अत्यन्त शक्तिशाली छन्,तर यो वर्ष पनि उनका कमजोरीहरू छन् देखियो ,’ अमेरिकाको सेटन हल विश्वविद्यालयका कानून प्राध्यापक मार्गरेट लुइसले भनिन् ।

    एक हप्ताको गोप्य बैठक तथा छलफलपछि सम्भवत सीले समापनका लागि सम्बोधन गर्नेछन् र पार्टीको शक्तिशाली स्थायी समितिका सदस्यहरुको नयाँ सार्वजनिक गरिनेछ ।

    ​धेरै पदमा पुरानालाई हटाएर नयाँ आउँछन् । सामान्यतया सदस्यहरुलाई तिनको गलत कामको लागि वा पार्टीको उमेर हदमबन्धीलाई देखाएर अवकाश लिन बाध्य पारिने गरेको देखिएको छ । पार्टीको राष्ट्रिय सम्मेलनको समयमा ६८ वर्ष वा त्योभन्दा माथिका सदस्यहरूलाई अवकाश लिन प्रोत्साहित गरिन्छ ।

    यस पटक स्थायी समितिका दुई सदस्यहरु उमेरका कारण अवकाश हुने सम्भावना देखिएको छ । तेस्रो र सातौं स्थानमा रहेका ली झान्सु र हान झाङ हट्ने सम्भावना उच्च रहेको विश्लेषकको अडकल छ ।

    यो सम्मेलन पहिलेभन्दा कसरी फरक हुनेछ ?

    केही दशकदेखि राष्ट्रिय सम्मेलनबाट दुई कार्यकाल शासन गरेका नेताले सहज नेतृत्व हस्तान्तरण गर्थे । तर सन् २०१८ मा पार्टीले अचानक कार्यकालमा रहेको संवैधानिक सीमाहरू खारेज भएको घोषणा ग¥यो । त्यसले सीलाई ‘जीवनभर शासन गर्ने’ बाटो खुलेको केही विश्लेषकले बताएका छन् । यसैले गर्दा विगतको परम्परा तोड्दै यस पटक सी तेस्रो पटक पार्टी नेतृत्वमा चुनिने सम्भावना प्रवल रहेको धेरैको प्रक्षेपण छ ।द गार्जियन

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया