• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    वन्यजन्तुबाट हुने क्षति रोक्न विद्युतीय तारबार

    427
    SHARES


    काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरले दु :खदिन थाले पछि बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु-३ मा विद्युतीय तारबार गरिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए । शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले बताएका छन् । “जङ्गली जनावरका कारण स्थानीयले धेरै दुःख पाएको गुनासो गर्दै आएका थिए”, उनले भने, “अब केही हदसम्म भए पनि जङ्गली जनावर गाउँ छिर्नबाट रोकिन्छन् ।”

    यस वडा र चितवन राष्ट्रिय निकुञ्जलाई नारायणी नदीले छुट्याएको छ । “नारायणी तरेर जङ्गली जनावर गाउँ छिर्दा धनजनको क्षतिसमेत हुने गरेको थियो”, वडाध्यक्षमहतोले भने, “नदी तरेर आए पनि विद्युतीय तारबाट जङ्गली जनावर सहजरूपमा गाउँ छिर्न सक्दैनन् ।” रातको समयमा तारमा विद्युतीय झड्का छोडिने भन्दै उनले तारमा छोडिएको विद्युतीय झड्काले वन्यजन्तुलाई हानी नपुर्याउने उनले बताए ।

    “गाउँको सिमानामा जडान गरिएको विद्युतीय तारबाट वन्यजन्तुलाई क्षति पुग्दैन”, उनले भने, “जनावर गाउँ प्रवेश गर्न खोज्दा तारमा छोइएको अवस्थामा उनीहरुलाई करेन्ट लाग्दैन तर तारले जताबाट आएको हो उतै धकेल्ने काम गर्छ ।” विद्युत् नभएको समयमा जेनेरेटर प्रयोग गरेरसमेत विद्युतीय झड्का दिइने उनको भनाइ छ ।

    गाउँमा करिब चार वर्षदेखि विद्युतीय तार बिग्रिएर बसेको थियो । नारायणी नदीको किनारै-किनार जोडिएको विद्युतीय तार बिग्रिएपछि गाउँमा बँदेल र एकसिङ्गे गैँडाले सताउँदै आएको स्थानीय सूर्यप्रसाद रेग्मीले बताए । निकुञ्जबाट गाउँ पसेको गैँडाले गत वर्षमात्रै दुई जना स्थानीयलाई आक्रमण गरी घाइते बनाएको उनले बताए ।

    “गाउँ र नारायणी नदीको सिमानामा लगाइएको विद्युतीय तारमा रातिमा मात्रै विद्युत् छोड्ने गरी हेरालु राखेका छौँ”, उनले भने, “रातिमा जनावर गाउँ प्रवेश गर्न नपाएपछि दिउँसो त आउँदैनन् ।” रातिमा जनावर गाउँ छिरेको अवस्थामा भने दिउँसै गाउँमा गैँडाले आतङ्क मच्चाउने गरेको रेग्मीले बताए । “एक हप्ता अगाडिमात्रै दिउँसो १ बजेतिर गैँडा गाउँमा पस्दा सबैको भागाभाग भएको थियो”, स्थानीय रेग्मीले भने, “गाउँ पसेको गैँडा लखेट्नका लागि निकुञ्जको लामाचौर पोष्टबाट हात्ती ल्याउनुपर्ने अवस्थासमेत आउँछ ।”

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया