• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    बुबा वैदेशिक रोजगारीका लागि साउदीमा, घरमा एक्लो १७ वर्षीय छोराको अपहरण पछि हत्या

    722
    SHARES


    काठमाडौँ । सिरहाबाट अपहरणमा परेका १७ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटियो ।

    सिरहाको गोलबजार घर भएका अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका-६ का राकेश ठाकुर रहेका छन् । कार्कीसँग ठाकुर र मण्डलको विराटनगरमै आएर चिनजान भएको देखिएको प्रहरीले जनाएको छ ।

    सिरहाको गोलबजार नगरपालिका ३ बस्ने १७ बर्षीय अंशुलाई मंगलबार मोटरसाइकलमा आएका ३ जनाको समूहले लिएर गएका थिए । त्यसको भोलिपल्टै सदाको परिवारलाई फोन गरेर १ लाख रुपैयाँ फिरौती मागेका थिए । ‘फिरौती माग्न फोन गर्दा मैले पनि अपहरणकारीसँग कुरा गरेको थिएँ’ वडा सदस्य बेचन साह हलुवाई भन्छन्, ‘मान्छे गरीब छ, कहाँबाट यत्रो रकम दिन सक्छ भनेर भनेका थियौं । तर उनीहरुले नदिए मारिदिने बताएका थिए ।’

    गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत अंशुको हत्या गरिदिने धम्की पाएपछि परिवारजनले खोजेर अपहरणमा संलग्नमध्ये एकको खातामा १० हजार रुपैयाँ पठाइदिएका थिए ।

    बिहीबार नै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा अंशुको खोजीका लागि निवेदन पनि दिएका थिए । फिरौती रकम जम्मा गरिदिएको खाताका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । त्यसका अधारमा शुक्रबार बैंकमा पैसा निकाल्न पुगेका कार्की र मण्डल पक्राउ परे । तर उनीहरुले अंशुको हत्या गरिसकेको पाइएको छ ।

    बिहीबार अप्सरा गेष्ट हाउसभित्र इँटा प्रहार गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवकको मुख रुमालले बाधेर इँटाले प्रहार गरी हत्या गरेको देखिएको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

    पक्राउ परेकाहरुले प्रहरीलाई शव भएको ठाउँसम्म पुर्‍याएका थिए । ‘पक्राउ परेकाहरुलाई हामीले सोधपुछ गर्दा अपहरणपछि हत्या गरिसकेको बयान दिए’, एसपी कोइरालाले भने, ‘होटलमा शव भेटियो ।’ प्रहरीले ठाकुरलाई पनि होटलमै पक्राउ गरे ।

    अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा २ वटा बेड छ । बिहीबार राति युवकको हत्यापछि शव एउटा बेडकोभित्र पट्टी हालेर उनीहरु त्यही कोठामा बसेको पाइएको छ ।

    अपहरणकारी समूहले हत्या गर्नुअघि विराटनगरमा होटल फेर्दै अंशुलाई बन्धक बनाएको खुलेको छ । प्रहरीका अनुसार यो समूहले अंशुलाई २४ असोजमा धनकुटा लजमा गएका थिए । २६ गते त्यहाँबाट निस्किएका उनीहरु अप्सरा गेष्ट हाउसमा पुगेका थिए ।

    शुक्रबार बिहान कोठा सफा गर्न खोज्दा होटलका कर्मचारीलाई प्रवेश गर्न समेत दिएका थिएनन् । ‘विहान म आफैं कोठा सफा गर्न गएको थिएँ, तर आफैं सफा गर्ने भन्दै भित्र जान दिनु भएन’, होटलका कर्मचारी मानव श्रेष्ठले भने, ‘बरु अझै एक साता बस्छौं, अर्काे कोठा पनि दिनुपर्यो भन्दै थिए ।’

    उनका अनुसार २६ गते बेलुका ६ बजेतिर चार जना आएका थिए, इन्ट्रीमा २ जनाको मात्र नाम रहेको पाइएको छ । मानवले भने, ‘आउँदा सामान्य रुपमा आएका थिए, आज प्रहरी आएपछि मात्रै हत्या भएको थाहा पाएँ ।’ फिरौती बापतको रकम समयमा नदिएका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । अंशुका बुबा वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन् । मृतकका ५ दिदीबहिनी रहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया