• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खानपिन जीवनशैली

    मासु खाँदा होसियारी नगरे लाग्न सक्छन् यस्ता रोग !

    1.7K
    SHARES


    डा. केदार कार्की । चाडपर्वका बेला भान्छामा विभिन्न परिकार पाक्छन्। तीमध्ये प्रमुख परिकार मानिन्छ– मासु। तर मासु कति खाने? कस्तो खाने? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने भन्ने चेतना निकै कम भएको पाइन्छ– नेपाली समाजमा। त्यसैले त चाडबाडलगत्तै मासुजन्य रोग लाग्नेहरूको संख्या पनि अधिक हुने गर्छ– हाम्रो मुलुकमा। चाडपर्वका बेला बढी मात्रामा खानपिन गरिने भएकाले निरोगी मानिस समेत बिरामी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा गम्भीर अवस्थामा अस्पतालमा पुर्याउनुपरेका थुप्रै उदाहरण छन्।

    चिकित्सकहरूका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा चाडपर्वको समयमा उच्च रक्तचाप, मुटरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्छ। त्यस्तै बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलाको रोग, कोस्टल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्या समेत देखिने गरेको छ।

    मासु प्रोटिनले भरिपूर्ण पौष्टिक आहार हो। मासुमा १४ देखि २१ प्रतिशत सम्म प्रोटिन पाइन्छ। त्यस्तै जिंक, भिटामिन बी र पोटासियमजस्ता शरीरलाई आवश्यक तत्व पनि मासुमा पाइन्छ। सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ। तर सही र सन्तुलित ढंगले प्रयोग नगरेमा मासुमा पाइने फाइदाजनक तत्व शरीरले ठीकसँग प्राप्त गर्न सक्दैन।

    जनस्वाथ्य चिकित्सकहरूका अनुसार मासु सेवनमा होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण डेढ सयभन्दा बढी प्रकारका रोग लाग्ने खतरा रहन्छ। राम्रोसँग नपकाएको खण्डमा वा रोगी पशुपन्छीको मासु खाएमा तिनका रोग पनि मानिसमा सर्छ।

    मानिसमा लाग्ने पशुरोगहरूलाई जुनोटिक डिजिज भनिन्छ। मासुबाट सर्न सक्ने परजीवीहरूमा टेनियासिस, हाइडाटिडोसिस, सिस्टिसर्काेसिस, ट्राइचुनेलोसिस, इकानोकोकोसिस र नाम्ले जुका मुख्य हुन्। यी सबै संक्रमण पशुको संक्रमित काँचो मासुका परिकारबाट मानिसमा सर्छन्।

    त्यस्तै विषाणुजन्य रोगमा बर्डफ्लु, खोरेत र रानिखेत पर्छन भने जीवाणुजन्य रोगमा एन्थ्राक्स, बुर्सेलोसिस, बोभाइन एन्ड एभिएन ट्युबरक्लोसिस, टाइफाइड फिबर, लेप्टोस्सपाइरोसिस, स्ट्रेप्टोकोकोसिस, स्टेफाइलोकोकोसिस पनि सर्न सक्छन्। प्रोटोजोवाजन्य रोगहरूमा भने टोकोसोप्लाज्मासिस, जियार्डियोसिस, अमिबियोसिस, ब्यालान्टिडियोसिस आदि सर्ने सम्भावना अत्यधिक हुन्छ। यी बाहेक मासुजन्य पदार्थकै कारण दाद र लुतो पनि हुने सम्भावना हुन्छ।

    स्वस्थ व्यक्तिले हप्तामा एकदेखि दुई छाकसम्म भोजनमा मासु समावेश गर्नु उपयुक्त हुन्छ। स्वस्थ व्यक्तिले दिनभरमा १०० देखि १५० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ। मोटोपना भएका मानिसले एकपटकमा तीनदेखि चार चोक्टाभन्दा बढी मासु खान उपयुक्त हुँदैन। अत्यधिक मासु सेवनाले हड्डी कमजोर हुने, आर्थ्रराइटिस (जोर्नीसम्बन्धी रोग) हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ।

    मासु धेरै सेवन गर्नाले मोटोपना बढ्ने र त्यसले शरीरमा एस्ट्रोजेन हर्माेन बढ्छ। सो हर्माेनले क्यान्सरको खतरा बढ्ने अनुसन्धानहरूले प्रमाणित भएको छ। मासु खानेबित्तिकै आइसक्रिम, दूध, दही, क्रिमका परिकार खानु उपयुक्त हुँदैन। बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिनुपर्छ। चाडपर्वमा मासु बढी खाइने हुँदा यसले युरिक एसिड र मिर्गौलाका बिरामीलाई सताउने गर्छ। प्रोटिनको अत्यधिक सेवनले मिर्गौला रोगमा हानी गर्ने हुनाले यस्ता रोगीलाई मासु कम खान सल्लाह दिइन्छ। मासुजन्य जुनोटिक रोगबाट बच्न मासुलाई राम्रोसँग पकाउनुपर्छ, साथसाथै रोगी पशुहरूको मासु खान हुँदैन। काँचो मासुको सेवन जुनोटिक रोग लाग्नुको प्रमुख कारण हो। मासुलाई १ सय डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ।

    चाडबाडमा धेरै चिल्ला र फ्राई गरेका खानेकुरा तथा माछामासु खाने चलन छ। हामीलाई स्वादिलो लागे पनि धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन। तेल, घिउ खार्दा त्यसबाट विषालु पदार्थ निस्कन्छ र त्यसले मुटुलाई निकै हानि पुर्याउँछ। त्यसैले खारेका खानेकुरा खान हुँदैन। तेल, घिउको प्रयोग सकभर न्यून मात्रामा गर्नुपर्छ। त्यस्तै एकदिन पकाएको मासु धेरै दिनसम्म खाने चलन पनि छ। पकाएको खानेकुरा धेरै समयसम्म भण्डारण गर्दा दूषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै हानि गर्छ।

    तसर्थ एकपटकमा खानेजति मात्र पकाउने र जति पकाइन्छ त्यसको शुद्धतामा ध्यान दिने गर्नुपर्छ। एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइँदैन।

    रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढाउँछ। उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्कजस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दसंैको मासु पकाउँदा सजग हुनुपर्छ। मासुलाई धेरै भुट्ने, तार्ने वा पोल्ननेभन्दा पनि थोरैभन्दा थोरै तेल प्रयोग गरी सामान्य तरिकाले पकाउनु उपयुक्त हुन्छ। एकपटक प्रयोग गरिएको तेल अर्काेपटक प्रयोग गर्नहुँदैन।

    मासु पोल्दा र सुक्खा हुनेगरी भुट्दा प्रयोग हुने दाउरा र ग्याँसबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ। जसले पेट, ठूलो आन्द्रा, प्रोस्टेट, कलेजो, फोक्सो र छालाजस्ता अंगमा क्यान्सर हुने जोखिम बढी रहन्छ। त्यस्तै मासु फ्राई गर्दा निस्कने तत्व एचसीए र पीएएचएसले मानव शरीरमा विभिन्न ट्युमर पैदा हुन्छन्। यसैकारण पछिल्लो समय नेपालमा क्यान्सरका बिरामी बढिरहेको चिकित्सकहरू बताउँछन्। सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ।

    मासु उमालेर खाएमा अरू बढी स्वास्थ्यवद्र्धक हुन्छ। मासुलाई बफ्याएर पकाउन सकिन्छ। मासुलाई सुक्खा किसिमले फ्राई गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ। चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ। सकभर खसी, भेँडा, च्यांग्रा, पाडा, बंगुर आदिको रातो मासु भन्दा पनि कुखुरा, हाँस, टर्की, बट्टाई वा माछाको सेतो मासु खानु उपयुक्त हुन्छ। खासगरी रातो मासुमा स्याचुरेटेड चिल्लो बढी हुने हुनाले त्यो मुटुका लागि घातक मानिन्छ। स्याचुरेटेड चिल्लोले कोलेस्टेरोलको मात्रा बढाउँछ, जसले रक्तप्रवाहमा अवरोध लगायतका समस्या उत्पन्न हुन सक्छन्। सेतो मासुमा हानिकारक बोसो तथा कोलेस्ट्रोलको मात्र कम हुने कारण मुटु तथा मधुमेहका बिरामीलाई समेत उपयुक्त हुन्छ। मुटु तथा मधुमेहका बिरामीले सकभर एकदमै न्यून मात्रामा सेतो मासु खानुपर्छ। यस्ता बिरामीलाई रातो मासु उपयुक्त हँुदैन। क्यान्सरका बिरामीले खसीको मासु एकैपटक धेरै खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्नु र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखानु उचित हुन्छ।

    मुटु, मधुमेह तथा क्यान्सरका बिरामीले एक छाकमा तीन÷चार टुक्रा मात्र मासु खानु, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिनु, हरियो तरकारीलाई खानामा समावेश गर्नु, सागसब्जी र रेशादार खानेकुरालाई प्राथमिकता दिनु र मासुको मात्र भर नपर्नु उपयुक्त हुन्छ। सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम मात्रामा हरियो सागसब्जी पनि खानु र नियमित शारीरिक व्यायाम गर्नु उचित हुन्छ।

    मधुमेहका बिरामीले बढी चिल्लो मासु खानु हुँदैन। प्रेसरका बिरामीले खाने मासु धेरै नुनिलो हुन हुँदैन। मधुमेह र प्रेसरका बिरामीले मासुसँग मादक पदार्थ खानु हुँदैन। जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृदयाघात पनि हुने सम्भावना भएकाले विशेष ध्यान दिनुपर्छ। दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर पुर्याउँछ। ग्याष्टिकका बिरामीले दिनको चार/पाँचपटक खानुपर्छ। सुगरका बिरामीले पनि पेटभरि खान हुँदैन। अड्कल गरीगरी खानुपर्छ। स्वस्थ मान्छेले पनि दिनमा तीन/चारपटक गरेर खानुपर्छ। एकैपटक धेरै खान उचित हुँदैन।

    नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण हुने गरेको छ। बिरामी पशुको मासु खाँदा जुकाका लार्भा शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा हुन्छ। फोहोर वधशाला तथा मासुको तयारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने खतरा हुन्छ।

    मासु र अन्य परिकारलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढी भई खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला हुने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन्छन्। सरकारले मासुको स्वस्थता र गुणस्तर कायम राख्न, स्वच्छ व्यापारलाई प्रोत्साहन गर्न, मासुबाट बन्ने खाद्यपदार्थमा मिसावट रोक्न २०५५ सालमै पशु वधशाला तथा मासु जाँच ऐन बनाएको त छ तर यी ऐन नियम लागू भएका छैनन्। हुन त स्वच्छ मासुको महत्त्वलाई बुझ्दै आधुनिक वधशालाको चलन सुरु भने भएको छ।

    आधुनिक वधशालामा जनवारलाई दुःख दिएर मारिँदैन। उनीहरूलाई बेहोस बनाएर मारिने र रगतसँग पनि लसपस नगरिने हुँदा मासु स्वस्थकर मानिन्छ। नेपाल सरकारले पनि आधुनिक वधशालालाई प्राथमिकताका साथ लागू गर्न नयाँ ऐन, नियम बनाएर कडाइका साथ लागू गर्नुपर्छ। उपभोक्ताले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिनुपर्छ। मासु काट्ने स्थान, चक्कु तथा हतियार सफा राख्नुपर्छ। मासु काट्ने व्यक्तिले लगाउने पोसाक, काटेको तरिका र तराजु पनि सफा हुनुपर्छ। त्यस्तै मासु काट्ने अचानो पनि सफा राख्नुपर्छ। मासुको परिकार तयार पार्ने व्यक्ति (कुर्क स्वस्थ हुनुपर्छ।

    पशुपन्छी वध गर्नेबित्तिकै मासु पकाएर खानु हुँदैन। बध गरेको अवस्थामै मासु किनेर ल्याउँदा पनि त्यसलाई ३ देखि ४ घण्टा डिपफ्रिजमा राखेर राम्ररी पकाउनुपर्छ। डिपफ्रिज छैन भने मनतातो पानीमा पखालेर मात्र पकाउनु राम्रो हुन्छ। पशुलाई धेरै हिँडाएर ल्याएको छ भने वध गर्नुअघि एक÷दुई दिन आराम गराउनुपर्छ। ठूलो पशु वध गर्नुपूर्व ६ देखि १२ घण्टाअघि दाना र घाँस रोकी पानी मात्र दिनुपर्छ। कुखुरालाई फिड सप्लिमेन्ट, हर्माेन तथा एन्टिबायोटिक दिएको ३ देखि ५ दिनपछि मात्र वध गर्नुपर्छ। मासु पसल सिसा राखेको, डिपफ्रिजको व्यवस्था तथा सकभर बिजुलिबत्तिको वैकल्पिक व्यवस्था भएको, भेन्टिलेटर तथा धुलोरहित र अन्य घरपालुवा जनावरको सम्पर्क नभएको हुनुपर्छ।

    कुखुराको मासु किन्दा छाला निकालेर, कलेजो, फोक्सो, मलद्वारनली र अन्ननली फ्यालेर किन्नुपर्छ। यसो गर्दा छालामा डिपोजिट भएर बस्ने भ्याक्सिन, कलेजोमा डिपोजिट भएर बस्ने एन्टिबायोटिक तथा यसमा रासायनिक प्रतिक्रिया भएर बन्ने केमिकलको हानिबाट जोगिन सकिन्छ। त्यस्तै अन्ननली र मलद्वारनलीमा रहने ब्याक्टेरियाको संक्रमणबाट बच्न सकिन्छ। मासु किनेर खुला नराख्नु उत्तम हुन्छ। उपलब्ध भए डिपफ्रिजमा राख्ने वा आगोको छेउछाउमा ठूलो भाँडोमा छोपेर राख्नुपर्छ। फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ। बासी तथा खुला स्थानमा राखेको मासु खानु हुँदैन।

    मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन। ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ। राम्रा फ्रिजिङका माध्यम पनि छन्, जुन व्यावसायिक संस्थाहरूमा मात्र हुन्छन्। मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन। माथिल्लो भागमा राख्दा मासुमा भएका तरल पदार्थ र किटाणु हावामार्फत तल्लो सतहमा झर्न सक्छ। अनि तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारी छुट्याइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ। काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन।

    चाडपर्वका बेला खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन। धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ। काम कम, माम धेरै गर्नुहुँदैन। शाकाहार मुटुरोगका लागि फाइदाजनक हुन्छ। तर नियन्त्रित रूपमा माछा–मासु खाएमा हानि हुँदैन। उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ। खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन्। अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ। फापर, कोदो, जौ, मकैलगायतले पनि मुटुलाई फाइदा पुर्याउँछ। मासु खाए पनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ।

    (लेखक सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक हुन्।)

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया