• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    युरोपमा ग्यास आपूर्ति बढाउने पुटिनको प्रस्ताव जर्मनीद्वारा अस्वीकार

    349
    SHARES


    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक सागर हुँदै जर्मनी जाने नर्ड स्ट्रिम २ पाइपलाइनको लिङ्कमार्फत युरोपेली संघलाई ग्यास आपूर्ति पुनः सुरु गर्न तयार रहेको बताए । तर सो प्रस्तावलाई जर्मनीले तुरुन्तै अस्वीकार गरिदिएकोछ ।

    बुधवार मस्को ऊर्जा मञ्चमा बोल्दै, पुटिनले पाइपलाइनको दुई लिङ्कहरू मध्ये एउटा गत महिना ठुला चुहावटको कारणले डेनमार्क र स्वीडेनको तट नजिक दबाबमा रहेको बताए । नर्ड स्ट्रिम १ पाइपलाइन पनि सेप्टेम्बरमा समुन्द्रमुनि भएको शक्तिशाली विस्फोटको कारण फुटेको थियो ।

    पश्चिमी अधिकारीहरूले उक्त पाइपलाइन घटना कुनै पक्षद्वारा जानाजान क्षति गराउने उद्देश्य भएको बताए पनि कसैलाई दोष दिएका छैनन् । जर्मन, डेनिस र स्वीडिस अधिकारीहरूले अझै पनि सो पाइपलाइनमा भएको विस्फोटको कारण छुट्याउन अनुसन्धान गरिरहेका छन् ।

    पुटिनका अनुसार पछिल्लो जाँचहरुले दुई पाईपलाईनमध्ये ‘नर्ड स्ट्रिम २’को लिङ्क सञ्चालन गर्न सुरक्षित रहेको देखिएको छ । उनले यस पाईपलाईनमार्फत रुस युरोपमा ग्यास पम्प गर्न पाइपलाइन प्रयोग गर्न तयार रहेको बताउदै यसबाट प्रति वर्ष २७ बिलियन(अर्ब) क्यूबिक मिटर (बीसीएम) ग्यास निर्यात गर्न सकिने बताए ।

    नर्ड स्ट्रिम २ पाइपलाइनमार्फत हालसम्म ग्यास युरोपमा पुगेको छैन । युक्रेन युद्ध हुनुभन्दा केहीअघि यस पाईपलाईनको निर्माण पुरा भएर संचालन हुनेबारे विचार भईरहेको थियो । तर रूसले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि जर्मनीले यस पाईपलाईनको संचालन नगर्ने घोषणा गर्‍यो ।

    जर्मनीको सरकारले पुटिनको प्रस्तावलाई तत्काल खारेज गरेको थियो । ‘दुई पाइपलाइनमा सम्भावित तोडफोड भएबाट हामीले रुस अब एक भरपर्दो ऊर्जा आपूर्तिकर्ता नरहेको पायौँ । नर्ड स्ट्रिम १ मा क्षति पुग्नअघि देखि नै रुसले ग्यास आपूर्ति रोकेको थियो ,’ जर्मन सरकारका प्रवक्ता क्रिस्टियन होफम्यानले बर्लिनमा पत्रकारहरूसँग भनिन् ।

    आगामी दिनमा रुसको व्यवहार परिवर्तन हुनेछ भनेर विश्वास गर्ने कुनै ठोस कारण नदेखिएको उनले भनिन् । पत्रकारहरुले नर्ड स्ट्रिम २ सञ्चालनको सम्भावना सकिएको हो भन्ने प्रश्नमा उनले त्यही अहिलेको यथार्थ भएको जवाफ दिएकी थिइन् ।

    रुसले अझै पनि युक्रेन हुँदै युरोप जाने पाइपलाइनबाट प्राकृतिक ग्यास आपुर्ति गरिरहेको छ । तथापि बाल्टिक सागरको पिँधबाट जाने नर्ड स्ट्रिम पाइपलाइनमा भएको विस्फोटले महाद्वीपमा जाडो ग्यासको आपूर्ति उल्लेख्य घटेपछि युरोपेली मुलुक चरम उर्जा अभाव सामना गरिरहेका छन् । विशेषतः जाडो नजिकिँदै गर्दा त्यहाँ ग्यासको आवश्यकता थप हुने गर्छ ।

    नर्ड स्ट्रिम १ मा विस्फोटअघि नै रुसले सो पाइपलाइनबाट आपूर्तिमा कटौती गरेको थियो । त्यसका लागि मस्कोले पश्चिमी प्रतिबन्धहरूका कारण पाइपलाइन मर्मतमा आवश्यक उपकरण ल्याउन नसकिएको कारण दिएको थियो ।

    तर युरोपेली नेताहरूले भने पुटिनले युक्रेनलाई सघाइरहेका युरोपेली मुलुकहरूमाथि दबाब कायम गर्न जानाजान उक्त कटौती गरेको आरोप लगाएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया