• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    लेक लागेर मृत्यु भएका दम्पतीको शव ४ दिनपछि निकालियो

    1.1K
    SHARES


    काठमाडौँ। लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएका एक दम्पतीको शव ४ दिनपछि आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको छ ।

    सदरमुकाम बेंसीसहरबाट करिब साढे १ दिनको पैदलमा पुगिने उक्त ठाउँबाट सदरमुकामसम्म शव ल्याउन गाह्रो भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    मेमेपोखरी घुमेर फर्किने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती लमजुङको बेंसीसहर नगरपालिका १०, साँधुकी २६ वर्षीया शर्मिला तामाङको लेक लागेर असोज १९ गते दसैं टीकाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दोर्दी र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्र करिब ३ हजार ९ सय मिटर उचाइको च्यार्बो भन्ने ठाउँबाट आइतबार दिउँसो ३ बजेतिर शव निकालिएको उक्त काममा खटिएका इन्सपेक्टर विष्णु विकले बताए । उनका अनुसार सकुशल उद्धार गरिएकामध्ये बेंसीसहर नगरपालिका-१०, साँधुका अन्दाजी १८ वर्षीय करण तामाङ (शर्मिलाको काकाको छोरा)को मेडिकल कलेज भरतपुरको आईसीयुमा उपचार भइरहेको छ ।

    दसैंको बेला ऐतिहासिक पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा लेकाली क्षेत्रमै दम्पत्तिको मृत्यु भएको हो । डीएसपी प्रकाश श्रीमलका अनुसार दसैंको टीकाको दिन बुधबार मेमेपोखरीबाट फर्किंदै गर्दा बाटोमा हाईअल्टिच्युट (लेक लाग्ने) समस्या भएपछि योञ्जन गम्भीर बिरामी भएका थिए । अत्यधिक पानी परिरहेको अवस्थामा गम्भीर बिरामीलाई उद्धारका लागि हारगुहार गर्दै मोबाइल नेटवर्क खोज्दै हिँडेका श्रीमती तामाङले पनि त्यहीँ ज्यान गुमाएकी थिइन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया