• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    द्वन्द्ववाद नबुझ्ने विप्लवहरु

    8.1K
    SHARES


    कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त गर्न चाहन्छु । कमरेड विप्लवद्वारा नवौँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरू र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक/राजनीतिक, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरूको उठान मार्क्सवादका आधारमा गरौँ कि सामान्य पुँजीवादी अवधारणाका आधारमा ? कमरेडहरूलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र मार्क्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैरमार्क्सवादी कोणबाट गर्ने कुरा गरिरराखेको छ भनेर । विप्लवजीले आफ्नो पार्टीको पहिलो प्रकाशन तथा मुखपत्र ‘जनक्रान्ति’ को ‘एकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषणबारे’ शीर्षक दिइएको लेखमा भन्नुभएको छ, ‘आजको विश्वको समाधान १७७ वर्षपहिलेका मार्क्सको संश्लेषण, १०० वर्षपहिलेका लेनिनको संश्लेषण र ६५ वर्षपहिलेका माओको संश्लेषणबाट मात्र खोज्न थालियो भने वाष्प–इन्जिनमा हवाईजहाज फिट गर्न खोजेको जस्तो हुन्छ ।’१

    विप्लवजीको यो भनाइलाई आधार मान्ने हो भने उहाँले मार्क्सवाद पुरानो भयो भन्नुभएको निष्कर्ष निकाल्नु पर्दछ । मार्क्सवाद पुरानो भयो भनिसकेपछि प्रतिवेदनमाथिको बहस मार्क्सवादका आधारमा गर्नु बेकार हुन्छ । तर प्रतिवेदनमा मार्क्सवाद—लेनिनवाद—माओवाद र अझ प्रतिवेदनको सुरुआत माओको भनाइबाट गरिएको छ । त्यसैले यो प्रतिवेदन कति मार्क्सवादी रहेको छ ? यसमा मार्क्सवादका तीनवटा सङ्घटक अङ्गलाई कसरी प्रस्तुत गरिएको छ र नेपाली क्रान्तिका समस्याको समाधानको बाटो खोजिएको छ कि झनै बल्झाउनेतिर उन्मुख रहेको छ भन्ने कुरामा निष्पक्ष भएर तर्कहरू पेस गरिनेछ । खेल लामो हुने भएकाले यसमा केवल दार्शनिक/वैचारिक विषयहरू मत्र उठान गरिएको छ ।

    पहिलो कुरा, अहिले समाज रूपान्तरणमा के माक्र्सवाद साँच्चै हवाईजहाजमा वाष्प–इन्जन जडान गरिएको जस्तो हो त ? अथवा तथ्यमा आधारित खोज, अनुसन्धान, अन्वेषणबाट प्रमाणित सत्य सिद्धान्तहरू पुराना हुन्छन् कि हुँदैनन् । हुनत फुकुयामा फ्रान्सिकले १९९१ मा नै द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान लेखिसकेका थिए तर सिद्धान्त र व्यवहारमा यी कुरा पुष्टि भएनन् । अनि विप्लवजीले अहिले फरक ढङ्गबाट त्यही कुरा उल्लेख गर्नु अज्ञानता हो कि मार्क्सवाद परित्यागको पथगामी बनेको हो ? साँच्चै विप्लवले भनेजस्तै मार्क्सवाद पुरानो भयो कि भएन भन्ने कुरालाई प्रमाणित गर्न केही भौतिक विज्ञानका सिद्धान्तहरूतिर प्रवेश गरौँ ।

    अहिले हामी रेलमा चढेर अन्तरिक्ष वा अरू कुनै ग्रहमा भ्रमण गर्नसक्ने युगमा छौँ । इलेन मस्कको स्पेसएक्स कम्पनीले यस्तो रेलको आविष्कार गरिसकेको छ । फ्याल्कन—१ जसमा चढेर मान्छे अन्तरिक्ष, ग्रह–उपग्रहमा यात्रा गर्न सक्छ । अन्तरिक्ष यात्राको सुरुआत ४ अक्टोबर १९५७ मा पहिलोपटक पूर्वसोभियत सङ्घले स्पुट्निक पहिलो सफलतापूर्वक अन्तरिक्षमा पठाएर गरेको थियो । त्यही रकेटको विकसित रूप हो अहिलेको फ्याल्कन— १ । अहिले मान्छेले मङ्गलग्रहमा भूउपग्रह पठाइसकेको छ । पृथ्वीबाट ११ करोड ५५ लाख ६० हजार किलोमिटर टाढा रहेको मङ्गलग्रहमा यान पुगिसकेको छ । तर त्यो यान प्रक्षेपण गर्ने सिद्धान्त आइज्याक न्युटनले सन् १६८६ मा ‘प्रिन्सिपिया म्याथमेटिका फिलोसोफिया नेचुरलिस’ मा गतिको तेस्रो—क्रियाबराबर प्रतिक्रिया, दोस्रो—गुरुत्व बल वा प्रवेग र पहिलो—जडताका नियमका रूपमा व्याख्या गरेका छन् । कुनै पनि यानलाई पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर पुग्नका लागि कम्तीमा ११.१८६ किलोमिटर प्रतिसेकेन्डको वेग हुनुपर्दछ । किनकि पृथ्वीको गुरुत्व प्रवेग लगभग ९.८१ मिटर/सेकेन्ड२ हुन्छ । पृथ्वीको गुरुत्व बलबाट फुत्किएर अन्तरिक्षमा प्रवेश गर्नु पर्दछ । विप्लवजीले भन्ने गरेको हवाईजहाज पनि त्यही २ सय ७१ वर्षअघि न्युटनले निकालेको गतिको तेस्रो नियमअनुसार नै उड्छ ।

    अब भन्नुहोस् महोदय, न्युटनले २ सय ७१ वर्षअघि आविष्कार गरेको गतिको नियमका आधारमा अहिले हवाईजहाज मात्र नभएर भूउपग्रहहरूले त अन्तरिक्ष र ग्रह–उपग्रहमा यात्रा गर्दछन् । त्यो नियम पुरानो भएको छैन भने मार्क्सवाद कसरी पुरानो हुन्छ । मैले यो प्रसङ्ग किन निकालेको भने विप्लवजीले आठौँ महाधिवेशन मात्र नभएर नवौँ महाधिवेशनको प्रस्तावित प्रतिवेदनमा मार्क्सवाद पुरानो भयो भन्ने गलत धारणा फिर्ता लिनुभएको छैन तर पनि म मार्क्सवादको एक विद्यार्थी र अनुयायी भएकाले उहाँ र उहाँले नेतृत्व गरेको पार्टी आफूलाई मार्क्सवादी भन्न रुचाउँछ भने पहिला मुखपत्रमा व्यक्त उक्त अभिव्यक्तिलाई फिर्ता लिनुपर्दछ । हैन भने उहाँहरूले आफूलाई मार्क्सवादी भन्ने कुनै अधिकार हुँदैन । किनभने मिति सकिएको कुनै वस्तुको उपयोग हुन सक्दैन । उहाँले आफू र आफ्नो पार्टीलाई यो महाधिवेशनबाट मार्क्सवादी नरहेको घोषणा गर्नुपर्दछ । खैर जे होस्, यहाँ म उहाँहरूले प्रतिवेदनमा उठाएका गैरमार्क्सवादी तर्कहरूका बारेमा उल्लेख गर्नेछु जसले इमानदार, मार्क्सवादप्रति प्रतिबद्ध र क्रान्तिको चाहना राख्ने कमरेडहरूलाई सचेत बनाउनेछ ।

    दार्शनिक/वैचारिक पक्षहरू

    आठौँ महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा केही महत्वपूर्ण सैद्धान्तिक विषयहरूअन्तर्गतका भाष्यहरू ‘समाजवादको असफलताले साबित गरेको छ भने वस्तुलाई बदल्नु मात्र पूर्ण होइन, बदलिएको वस्तुलाई रक्षा र विकास गर्ने कुरा मुख्य बन्दो रहेछ ।… तसर्थ हामीले बदल्नेसँगै रक्षा र विकास गर्ने दर्शन निर्माण गर्नुछ ।’ ‘ …परन्तु विपरीतको एकत्वको नियम प्रकृति र समाजमा लागू हुँदा एकै प्रकारले हुन्छ भनेर बुझ्नु यान्त्रिक हुन्छ ।’ ‘प्रकृति विज्ञानको विकासले मार्क्सवादको पुष्टि र विकास गर्दछ । यसैले गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका दुस्मनहरू प्रकृति विज्ञानको आविष्कारलाई यसको खण्डनमा लागेका छन् । …तरङ्गजस्तै हावा पनि हो ।…द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा विकास गर्न जरुरी छ ।’

    माथि प्रस्तुत गरिएका भाष्यहरू ठीक–बेठीक के हुन् भन्नेबारेमा नवौँ महाधिवेशनको प्रतिवेदनमा कुनै उल्लेख छैन । यी ३ वटा कुराका बारेमा पार्टीका केन्द्रीय समितिमा नियमितजस्तो उठ्ने गरेका थिए । जब कि यी अभिव्यक्तिहरू गैरमाक्र्सवादी उक्तिहरू हुन् । द्वन्द्ववादबारे मार्क्स भन्नुहुन्छ, ‘In its rational form it is a scandal and abomination to bourgeoisdom and its doctrinaire professors, because it includes in its comprehension and affirmative recognition of the existing state of things, at the same time also, the recognition of the negation of that state, of its inevitable breaking up; because it regards every historically developed social form as in fluid movement, and therefore takes into account its transient nature not less than its momentary existence; because it lets nothing impose upon it, and is in its essence critical and revolutionary.’

    (नेपालीमा भाषान्तरण— तर तर्कबुद्धिपरक हिसाबले त्यो बुर्जुवा संसार तथा उसका पण्डित–प्राचार्यहरूका लागि एउटा निन्दनीय घृणित वस्तु हो किनभने त्यसमा वर्तमान व्यवस्थाबारे उसको बुझाइ तथा सकारात्मक स्वीकृतिका साथसाथै यस व्यवस्थाको निषेध र त्यसको अवश्यम्भाबी विनाशको स्वीकृति पनि सामेल छ किनभने द्वन्द्ववादले ऐतिहासिक दृष्टिबाट विकसित प्रत्येक सामाजिक रूपलाई निरन्तर परिवर्तनशील मान्दछ र यसकारण त्यसको अस्थायी स्वरूपमा उसको क्षणिक अस्तित्वभन्दा कम ध्यान दिँदैन । यसकारण द्वन्द्ववादले कुनै पनि चीजलाई आफूमाथि हाबी हुन दिँदैन किनभने आफ्नो सारतत्वमा यो आलोचनात्मक र क्रान्तिकारी छ ।)

    व्याख्या नगरीकन भन्दा विप्लवजीहरूका यी तर्कहरूलाई सीधै अस्वीकार गर्दछ । अर्को कुरा मार्क्सको भनाइ ‘बदल्नु मुख्य’ लाई त्यत्ति मात्र होइन रक्षा र विकास गर्ने तर्र्कलाई उहाँहरूले दर्शनमा नयाँ संश्लेषण गरेको जुन दाबी गर्नुभएको छ, त्यो वास्तवमा नयाँ संश्लेषण नभएर बाबुरामको ‘…मूलभूत समानताभित्र उल्लेखनीय भिन्नताहरू र समाज विकासका क्रममा देखिएका आमसमानताभित्रका ठोस असमान मार्गहरूले द्वन्द्ववादी विकासको सिद्धान्तलाई थप विकसित र परिमार्जित गर्नुपर्ने देखिन्छ ।’ भनाइमा समानता रहेको छ । कुरा यत्ति हो उक्त लेख बाबुरामले मार्क्सवाद परित्याग गरेको घोषणापछि लेखेका थिए । विप्लवजीहरूले मार्क्सवाद पुरानो भयो भन्नुभएको छ । त्यसैगरी उहाँहरूले भन्ने गरेको विपरीतहरूको एकत्व समाजमा फरक हुन्छ भन्ने कुरा मार्क्सवाद सङ्गत छैन । यसको खण्डन मार्क्सको ‘द्वन्द्ववादले ऐतिहासिक दृष्टिबाट विकसित प्रत्येक सामाजिक रूपलाई निरन्तर परिवर्तनशील मान्दछ’ भन्ने तर्कले गर्दछ ।

    त्यसैगरी उहाँहरूले तरङ्गलाई हावाजस्तै भन्नुभएको छ । तरङ्ग भनेको माध्यममा हुने अवरोध हो जसमा कणहरूको कुनै हलचलबिना ऊर्जा एक स्थानबाट अर्को स्थानमा पुग्दछ जब कि हावामा कणहरू हुन्छन् । उसको ऊ स्वयम् माध्यम हुन्छ । हावा ताप र ध्वनिलाई एक स्थानबाट अर्को स्थानमा पुर्याउने माध्यम बन्दछ तर प्रकाश होइन । यो कथनले भौतिक विज्ञानका सम्बन्धमा उहाँहरू कति अनभिज्ञ हुनुहुन्छ भन्ने कुराको पुष्टि गर्दछ । नवौँ महाधिवेशनको दस्ताबेजमा उहाँहरूले ‘वैज्ञानिक भौतिकवादी दृष्टिकोण’ उल्लेख गर्नुभएको छ । वैचारिक विशेषताहरूअन्तर्गत उल्लेख उक्त पदावलीले के भन्न खोजेको हो स्पष्ट भएको छैन । सायद द्वन्द्वात्मक भौतिकवाद होला । राहुल सांकृत्यायनको शब्द सापटी लिइएको होला । द्वन्द्ववादका बारेमा विप्लवजीहरूको धारणा ‘नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र विचारको विस्तारसँगै यो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको विकास भएर आएको छ ।’ ‘यहाँनेर दर्शनबारे अर्को गलत सोच पनि छ जसले द्वन्द्वात्मक भौतिकवादभन्दा अर्को दर्शन सम्भव छैन भने जसरी व्याख्या गर्दछ । यो मार्क्स–लेनिन–माओसम्म भएको दर्शनको विकासलाई नै अन्तिम हो जसरी व्याख्या गर्दछ । यसको सम्बन्ध दर्शनमा जडसूत्रवादसँग छ । यसले दर्शनलाई परम्परागत रूढिका रूपमा थन्काइदिने खतरा हुन्छ । यसले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई वस्तु, समाज, गति र विकासमा नलिएर स्थिर सत्यका रूपमा व्याख्या गर्दछ । यसले दर्शनको द्वन्द्वात्मक एवम् गतिशील आत्मालाई झिकेर जड वस्तुमा बदलिदिन्छ ।’ व्यक्त गरिएको छ ।

    यस भनाइबाट द्वन्द्वात्मक भौतिकवादको विकास नेपालमा भएको हो र द्वन्द्ववादलाई उही रूपमा बुझ्नु भनेको जड वस्तुका रूपमा बुझ्नु हो जब कि द्वन्द्ववाद आफैँमा गतिशील हुन्छ । यसले सबै चीजलाई जडमा व्याख्या गर्दैन, बरु गतिमा बुझ्दछ । कसैले द्वन्द्वात्मक भौतिकवादलाई विप्लवजीहरूको धारणामा बुझ्ने कोसिस गर्दछ भने ऊ कदापि मार्क्सवादी हुन सक्दैन किनकि यो तर्कले त आदर्शवादी दृष्टिकोणको माग गर्दछ । मार्क्स—एङ्गेल्सले त भौतिकवादलाई द्वन्द्ववादी विधिमा मात्र खोज गर्नुभएको थियो । जसरी अधिभूतवाद एउटा विधि हो, त्यसैगरी द्वन्द्ववाद पनि विधि हो । आदर्शवादी द्वन्द्ववादको हेगेलले खोज गरेका हुन् । फायरबाखको अधिभूतवादी भौतिकवाद र हेगेलको आदर्शवादी द्वन्द्ववाद थियो । यो कुरालाई पुष्टि गर्न मार्क्सले ‘The mystification which dialectic suffers in Hegel’s hands, by no means prevents him from being the first to present its general form of working in a comprehensive and conscious manner. With him it is standing on its head. It must be turned right side up again, if you would discover the rational kernel within the mystical shell.’— हेगेलको हातमा द्वन्द्ववाद रहस्यको आवरणभित्र छ तर यसका बाबजुद हेगेलले सबैभन्दा पहिले विस्तृत र सचेत ढङ्गले सामान्य रूपमा द्वन्द्ववादले कसरी काम गर्दछ भन्ने कुरा बताएको सही कुरा हो । टाउकोले टेकेर उभिएको छ । तपाईं यसको रहस्यमय आवरणभित्र लुकेको तर्कबुद्धिपरक सारतत्व तत्ता लगाउन चाहनुहुन्छ भने तपाईंले त्यसलाई उल्ट्याएर फेरि खुट्टाको बलमा उभ्याइदिनु पर्नेछ ।’१० भन्नुभयो । यसको खास अर्थ हुन्छ, द्वन्द्ववादी आदर्शवाद र अधिभूतवादी भौतिकवादलाई द्वन्द्वात्मक भौतिकवादमा सुल्ट्याउनु । यही हो टाउकाले टेकेकोलाई खुट्टाले टेकेको बनाउनु ।

    मार्क्सले प्रतिपादन गरेको द्वन्द्ववादको व्यापकताका बारेमा स्वयम् माक्र्सले ‘पुँजीमा द्वन्द्ववादको प्रयोग’ लेखेर पुष्टि गर्नुभएको छ । पुँजीको निर्माण समाजसँग सम्बन्धित हुन्छ । खास भन्नुपर्दा मान्छेले गर्ने क्रियाकलापमा भर पर्दछ । त्यसैले द्वन्द्ववाद मानवमा उस्तै गरी लागू हुँदैन जसरी भौतिक वस्तुमा हुन्छ भन्नु गलत हुन्छ । त्यसैले त माओले यसलाई झन् स्पष्ट पार्नुभएको छ । उहाँले त हेगेलले आदर्शवादी तरिकाले तयार पारेका ३ नियमहरूलाई एङ्गेल्सले प्रस्तुत गर्नुभएको थियो, त्यसको व्यवस्थित रूपमा स्पष्ट गर्नुभएको छ । माओ भन्नुहुन्छ, ‘Engels talked about the three categories, but as for me I don’t believe in two of those categories. (The unity of opposites is the most basic law, the transformation of quality and quantity into one another is the unity of the opposites quality and quantity, and the negation of the negation does not exist at all.) The juxtaposition, on the same level, of the transformation of quality and quantity into one another, the negation of the negation, and the law of the unity of opposites is ‘triplism’, not monism. The most basic thing is the unity of opposites. The transformation of quality and quantity into one another is the unity of the opposites quality and quantity. There is no such thing as the negation of the negation. Affirmation, negation, affirmation, negation . . . in the development of things, every link in the chain of events is both affirmation and negation.’— एङ्गेल्सले तीनवटा मूल नियमहरूको कुरा गरेका छन् तर म भने तीमध्ये दुईवटा मूल नियमहरू स्वीकार्दिनँ । – विपरीतहरूको एकताचाहिँ आधारभूत नियम हो, गुणको परिमाणमा रूपान्तरण र परिमाणको गुणमा रूपान्तरण भन्ने कुरा गुण र परिमाणजस्ता विपरीत तत्वहरूको एकत्व मात्र हो र निषेधको निषेध भन्ने कुरा नै हुँदैन । गुणको परिमाणमा रूपान्तरण र परिमाणको गुणमा, निषेधको निषेध र विपरीत तत्वहरूको एकत्व भन्ने तीनवटा कुरालाई समानान्तर रूपमा हाराहारीमा राख्नु त्रयवाद हो, एकत्ववाद होइन । सबैभन्दा आधारभूत कुरा भनेको विपरीत तत्वहरूको एकता हो । गुणको परिमाण र परिमाणको गुणमा रूपान्तरण भन्ने कुरा गुण र परिमाणजस्ता विपरीत तत्वहरूको एकत्व मात्रै हो । निषेधको निषेध भन्ने कुरा हुँदैन । स्वीकार, नकार, स्वीकार, नकार …वस्तुको विकासक्रममा एकअर्कासँग साङ्लोझैँ गाँसिएका हुन्छन् ।’११

    माथि उद्धृत मार्क्स र माओका भनाइले सबै चीजमा विपरीतहरूको एकत्वको नियम लागू हुन्छ । विप्लवजीहरूले आठौँ महाधिवेशनमा दर्शनमा विकास गरिएको भनी प्रस्तुत गरेको सजीव वस्तुमा यो नियम लागू हुँदैन भन्ने तर्क गैरमार्क्सवादी मात्र नभएर दृष्टिकोणमा भएको डरलाग्दो खोट हो । अहिले आएर नवौँ महाधिवेशनमा उहाँहरूले ‘सजातीय विपरीतको एकत्व भनेको गलत विचार अर्थात् बुर्जुवा विचारलाई रूपान्तरण गर्ने या पार्टीबाट अलग गर्ने दृष्टिकोण हो ।’१२ तर्क पेस गर्नुभएको छ । यसबाट उहाँहरूले विपरीतहरूको एकत्वको शाब्दिक अर्थ नबुझेको देखिन्छ किनभने विपरीतहरूको एकत्व सजातीय वा विजातीय हुँदैन । यसले वास्तवमा प्रकृतिमा विद्यमान वस्तुहरूको अन्तरविरोध वा अन्तरसङ्घर्ष भन्ने बुझाउँछ । माओले पार्टीभित्रको विपरीतहरूको एकत्वबाट पैदा हुने अन्तरसङ्घर्षलाई सञ्चालन र समाधान गर्न आलोचना र आत्मालोचनाको विधिको आविष्कार गर्नुभयो । उहाँले पार्टीभित्रको फोहोर बढार्ने वा कुचो लगाउने भन्नुभएको छ । माओले भन्नुभएको छ, ‘Inner-Party criticism is a weapon for strengthening the Party organization and increasing its fighting capacity.’— अन्तरपार्टी आलोचना पार्टी—सङ्गठनलाई बलियो पार्ने र त्यसको लडाकु क्षमतालाई बढाउने साधन हो ।’१३ जसलाई विप्लवहरू स्वीकार गर्नुहुन्न ।

    तर विप्लवजीहरूले यो द्वन्द्वात्मकतालाई नबुझेका कारण पार्टीभित्रको आत्मालोचना—आलोचनाको विधिलाई हटाएर ‘पार्टीमा समस्याहरू आउने भनेको सारमा नेताहरूमा आउने समस्या नै हो । नेताहरूबीचको सम्बन्ध केवल लेनिनको तरिकाबाट मात्र समाधान नभएपछि माओले आलोचना र आत्मालोचनाको नयाँ विधिमा जोड दिनुभयो । यसले सकारात्मक प्रभाव पनि दियो तर पछिल्लो समयमा पुग्दा यो विधिको प्रयोग पनि स्वच्छ रूपान्तरण हुने र गराउनेमा भन्दा आफ्ना पूर्वाग्रह र प्रतिशोध साध्ने हतियारका रूपमा प्रयोग हुन थालेपछि प्रभावहीन बन्दै गएको छ । आत्मालोचनाभन्दा आलोचना प्रधान बन्न पुगेपछि त्यसले रूपान्तरण गर्ने नभई कमजोरीमा निषेध गर्न खोज्ने समस्या बढेको छ । पार्टीभित्रका अन्तर्विरोधहरूको समाधान रूपान्तरणबाट नभई निषेधबाट गर्न खोज्दा परिणाम…।’१४ भन्ने गजबको विधि अँगाल्नुभएको छ जुन मार्क्सवाद त छैन नै पार्टी—सङ्गठनभित्र पैदा भएका समस्या र अन्तर्विरोधहरूलाई असाध्य बनाइदिन्छ र अन्ततः अर्बुद रोगको पनि अन्तिम चरणमा परिणत गरिदिन्छ ।

    पार्टीभित्र नेता वा कार्यकर्तामा भएका वैचारिक, राजनीतिक र साङ्गठनिक र सांस्कृतिक समस्याको समाधानको पहिलो उपाय भनेको उनीहरूमा रहेको दृष्टिकोणात्मक समस्यालाई आलोचना र आत्मालोचना हो । यो पनि द्वन्द्ववादमा आधारित रहेको छ । यसरी हेर्दा यो विशुद्ध वैचारिक भए पनि यसले सङ्गठन सञ्चालन र त्यसले गर्ने सङ्घर्षमा प्रभाव पर्दछ । जस्तै विप्लवजीको नवौँ महाधिवेशनको दस्ताबेजमा उल्लेख गरिएको छ– पार्टीभित्र समस्याहरू रहेका छन् । उहाँहरूले किटान नगरे पनि उक्त पार्टीमा वैचारिक समस्या मुख्य भएर देखापरेको छ । त्यसले साङ्गठनिक समस्या सिर्जना गरेकाले आठौँ महाधिवेशन आयोजक समितिका ४८ सदस्यमध्ये २४ जनाले उक्त पार्टी छाडेका छन् । महाधिवेशनबाट निर्वाचित गरिएका ६० जनामध्ये २६ जनाले यस अवधिमा उक्त पार्टी छाडेका छन् ।

    यसको मुख्य कारण उक्त पार्टीमा अन्तरसङ्घर्षलाई पूर्ण रूपले बन्देज गरिदिनु हो । दुई लाइन सङ्घर्ष हुँदैन भन्ने मान्यता राखिएकाले त्यहाँ निषेधात्मक आदर्शवाद लागू गरियो । फरक विचार राख्नेबित्तिक्कै कि त खुरुक्क पार्टी छाड्नुपर्ने कि आफ्नो विचार छाडेर आत्मसमर्पण गर्नुपर्ने वा कारबाही सहनुपर्ने विकल्प अहिले पनि त्यो पार्टीमा विद्यमान छ । यस्तो गैरमाक्र्सवादी सङ्गठनात्मक अवधारणाको बीजारोपण २०७१ सालको धरान बैठकमा प्रस्तुत गरिएको थियो । त्यसैलाई आठौँ महाधिवेशन र अहिले प्रस्तावित नवौँ महाधिवेशनसम्म यथावत् राखिएको छ । यो सत्यलाई त्यहाँ रहनुभएका अधिकांश तत्कालीन केन्द्रीय सदस्यहरूले अभिव्यक्तिमा असहमति जाहेर गरेका हुन् तर उनीहरू सङ्गठित, व्यवस्थित रूपमा पार्टीका आधिकारिक र औपचारिक कार्यक्रममा उजागर गर्ने साहस गर्दैनन् । उनीहरूको यो कमजोरी पनि द्वन्द्ववादलाई सही तरिकाले आत्मसात गर्न नसक्नु हो । उनीहरू यी असत्य तथ्यहरूका बारेमा बोलेमा वा फरक मत राखेमा पार्टी सङ्गठनबाट बाहिरिनु पर्दछ वा पार्टी र नेतृत्वमा गम्भीर समस्या आउँछ भनी विधिमा अधिभूत र दृष्टिकोणमा आदर्शवादी सोचाइ राख्दछन् । गएको १२ औँ केन्द्रीय समितिको निर्णय विप्लव—प्रकाण्डहरूले उल्टाउँदा पनि प्रतिवाद नगरी मुटु–मन कस्नु यसैको परिणाम हो ।

    त्यस पार्टीमा द्वन्द्वात्मक भौतिकवादलाई लागू गर्न नसक्नुका कारणले त्यहाँ बल्झिने साङ्गठनिक, आर्थिक र सांस्कृतिक समस्याहरू समाधान हुनुको सट्टा असाध्य बन्न पुगेको छ र नेताहरूमा देखिएका समस्यामा तैँ चुप मैँ चुपमा गएर टुङ्गिने गरेको छ । यसैको फलस्वरूप मुख्य नेताहरूमा क्रान्तिकारी कम्युनिस्ट भएको अभिनय गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । यसरी गर्नुपर्ने विभिन्न अभिनयहरूले नेताहरूमा बहुचारित्रिक जटिलता पैदा हुन्छ र नेता असन्तुलित बन्न पुग्दछ । यस्तो बहुचारित्रिक जटिलताबाट नेता विकृत विचारको सिकार बन्न पुग्दछ । यस्तो सिकार हुनबाट मुक्त हुने एक मात्र उपाय भनेको भौतिकवादी दृष्टिकोणलाई द्वन्द्ववादी विधिद्वारा कार्यान्वयन गर्नु नै हो ।

    विप्लवजीहरूले द्वन्द्ववादको विकासको कुरा गर्नुको पछाडिको मुख्य तर्क यान्त्रिकता हो । विज्ञानले प्रविधिमा गरेको विकासलाई उहाँहरूले विचारमा विकास भएको भन्ने धारणा बनाउनुभएको छ । यो धारणा एकदमै गलत रहेको छ । आठौँ महाधिवेशनमा स्टेफिन हकिङको नाम खुबै लिइएको थियो । नवौँ महाधिवेशनको प्रतिवेदनमा ङ्प्लङ्कको क्वान्टम मेकानिक्स अर्थात् अनिश्चयको सिद्धान्तले भौतिक वस्तुको अन्त्यलाई कतैबाट पनि साबित गर्दैन ।’१५ भनिएको छ । पहिलो कुरा त उहाँहरूले भन्न खोजेको क्वान्टम यान्त्रिकी नभएर क्वान्ट सिद्धान्त हुनु पर्दछ । यसका ३ वटा नियमहरू शक्तिको विच्छिन्न(Energy discrete), तरङ्ग—कण द्वैतता (Wave-particle Duality) र अनिश्चितता (Uncertainty) हुन्छन् । यहाँ विच्छिन्न भन्नाले शक्ति पनि टुक्रा हुन्छ जस्तै प्रकाश फोटोनमा, प्रकाशको तरङ र कण अभिन्न रूपमा रहेको हुन्छ र अनिश्चितता भनेको जति ठीकसँग कुनै कणको स्थिति सुनिश्चित गरिन्छ, त्यत्ति नै त्यसको गति अनिश्चित हुन जान्छ र जति ठीकसँग कुनै कणको गतिलाई निश्चित गरिन्छ, त्यत्ति नै त्यसको स्थिति अनिश्चित हुन जान्छ भन्ने अर्थ लाग्दछ । यसले सम्भाव्यता दर्साउँदछ । क्वान्ट सिद्धान्तले यसअघिको वस्तुगत जगत्को यान्त्रिक अधिभूतवादी धारणालाई पूर्ण रूपले अन्त्य गरिदियो । यस सिद्धान्तले द्वन्द्ववादी धारणालाई विच्छिन्नता अथवा क्रमभङ्गको धारणा, मात्रा र गुणको अनिवार्य सम्बन्ध, विपरीत पक्षहरूको अस्तित्वको सापेक्षिकता र अन्तरसम्बन्धद्वारा पुष्टि गरेको छ । बरु क्वान्टम सिद्धान्तले द्वन्द्ववादलाई प्रकृति विज्ञानको माध्यमबाट पुष्टि गरिदिएको छ जसलाई विप्लवजीहरूले स्वीकार गर्नुभएको छैन । क्वान्टम यान्त्रिकी भनेको त क्वान्टम सिद्धान्तलाई गणितको सूत्रद्वारा कार्यान्वयन गर्नु हो । क्वान्टम यान्त्रिकीका प्रयोगहरूलाई प्रकृतिमा पाइने घटनाहरूको व्याख्या गर्ने र क्वान्टम प्रभावहरू जस्तै एकीकृत पथ (सर्किट) र लेजरहरू विकास गर्न समावेश गरिन्छ । यसको पछिल्लो उदाहरण क्वान्टम कम्प्युटिङ हो ।

    उहाँहरूले हकिङको आविष्कारका बारेमा गरिएको भन्दा भिन्न कुराहरूलाई बडो बढाइचढाइ गरेर उठाउने गर्नुभएको छ । कहिले ब्ल्याक होलबाट फर्किन सकिने कुरा, कहिले एकीकृत सिद्धान्तको कुरा । ब्ल्याक होलबाट फर्किन सकिन्छ भन्नेबारेमा हकिङ र उनकी छोरी लुसीले संयुक्त रूपमा सन् २००७ मा एउटा बाल उपन्यास लेखेका छन् जर्जस् सिक्रेट कि टु युनिभर्स । त्योभन्दा बढी अहिलेसम्म केही भएको छैन । जहाँसम्म एकीकरणको सिद्धान्त छ, आइन्सटाइनले जब सामान्य सापेक्षताको सिद्धान्त पत्ता लगाए, त्यसले उनलाई सापेक्षता र क्वान्टम सिद्धान्तलाई एकीकरण गर्न सकिन्छ भन्ने अवधारणा बनाएका थिए । उनले प्रकृतिमा रहेका ४ वटा बलहरू चुम्बकीय, गुरुत्व, प्रबल र दुर्बलहरूलाई एकीकरण गर्न सकिन्छ भनेका थिए तर सकेनन् । तर जब पछि क्वान्टम क्रोमोडाइनामिक्स र इलेक्ट्रोविक सिद्धान्तलाई मिलाएर बृहत् एकीकृत सिद्धान्त बनाइएको छ यो धेरै हदसम्म सफल भएको छ ।

    बरु हकिङले भौतिकवादमा विशेष योगदान गरेका छन् । ‘दिक—काल, ब्रह्माण्डको विस्तार, अनिश्चयको सिद्धान्त, प्रारम्भिक कणहरू र बलहरूको प्रकृति, कृष्णविवर, ब्रह्माण्डको उत्पत्ति र निर्धारण’१७ । त्यसैले सबैभन्दा पहिला द्वन्द्ववाद के हो, भौतिकवाद के हो र द्वन्द्वात्मक भौतिकवादलाई बुझ्न र ग्रहण गर्न जरुरी छ भन्ने जानकारी राख्नु पर्दछ । यी कुराहरू मैले २०७५ सालको केन्द्रीय समितिको बैठकदेखि लगातारका सबै बैठकमा भन्दै आएको हुँ । साथीहरूलाई याद हुनु पर्दछ । मैले पहिला मार्क्सवादका सबै आधारभूत कुराहरूको सङ्गतिपूर्ण अध्ययन गर्नु पर्दछ र त्यसैको आधारमा प्रकृति विज्ञानमा भएका खोज, अनुसन्धान र आविष्कारहरूको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले अध्ययन गर्नु पर्दछ भन्ने गर्दथेँ । मेरो सुझावमा नेताहरूले सुन्ने कान लगाएनन् ।

    त्यसै अहिले पनि कमरेडहरूलाई मार्क्सवादी दर्शनलाई राम्ररी बुझ्न र आत्मसात गर्न विशेष अनुरोध गर्दछु । त्यसपछि मात्र राजनीतिको कुरा आउँछ । राजनीति दिनप्रतिदिनका घटनाहरू भए पनि ती घटनाप्रति कस्तो धारणा बनाउने भन्ने कुरा दर्शनले निर्धारण गर्दछ । यो सबैले बुझेको कुरा हो । यही गलत धारणाले बास गरेकाले गएको स्थानीय चुनाव प्रयोग गर्ने नीति उक्त पार्टीले लियो । सायद अहिले के गर्दछ ? तर उक्त पार्टीको साउन २२—२४ सम्म बसेको पूर्ण बैठकले ‘यथास्थितिमा चुनावमा नजाने, यदि पक्राउ पुर्जी फिर्ता लिएर मुद्दाहरू खारेज गर्ने र बन्दीहरू रिहा गरी ३ बुँदे सहमति कार्यान्वयन गरेको अनुभूति गराएमा ४ पार्टीको मोर्चासँग छलफल र निर्णयअनुसार अगाडि बढ्ने’१६ निर्णय लिएको छ । यस निर्णयले वर्तमान संसदीय व्यवस्थालाई उहाँहरूले स्वीकार गर्नुभएको छ । उहाँहरू अब जानेर वा नजानेर संसद्‌वादी भैसक्नुभएको छ ।

    उहाँहरूको दस्ताबेजमा उठाउनुपर्ने धेरै कुरा छन् । जस्तै कार्यदिशा, कार्यनीति, रणनीति, कार्यनैतिक कार्यक्रम, उहाँहरूले भन्दै आएको वैज्ञानिक समाजवाद, अर्थराजनीति । सबैभन्दा ठूलो भ्रम त उहाँहरूमा प्रविधिका बारेमा छ । एकीकृत जनक्रान्तिको एउटा आधार प्रविधिलाई मानिएको भए पनि त्यही प्रविधिको सामान्य धारणात्मक ज्ञानको कमी छ । प्रविधिको व्यवस्थित अध्ययन, खोज, अनुसन्धान नगर्ने र गर्न नदिने बरु पुरानैतिर फर्किने समस्या रहेका छन् । प्रविधिलाई खेलौना र रोमाञ्चक वस्तुका रूपमा लिने गरिन्छ । यी सबै विषयमा पछि छलफल गर्दै जाउँला । अहिलेका लागि दर्शन/विचार प्रमुख भएकाले यसका बारेमा केही कुराहरू उठाएको छु ।

    सन्दर्भ

    १) जनक्रान्ति भाग १, अङ्क १ २०७२ को पेज ८ र ९
    २) नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदन २०७३ पेज ३९,
    ३) ऐ, ऐ
    ४) ऐ, ऐ पेज ४०
    ५) Das Capital Afterword to the Second German Edition (1873), Karl Marx London, April 28, 1875
    ६) बाबुराम भट्टराई, एक्काईसौँ शताब्दीमा कार्ल मार्क्स, रातो झिल्को वर्ष १०, पूर्णाङ्क १५, वैशाख—असोज २०७६ पेज १२
    ७) नवौँ महाधिवेशनका लागि प्रस्तुत राजनीतिक प्रतिवेदन, पेज ३०
    ८) ऐ. ऐ.
    ९) ऐ. ऐ. पेज ५९
    १०) Das Capital Afterword to the Second German Edition (1873), Karl Marx London, April 28, 1875
    ११) Mao Talk on philosophy १९६४
    १२) नवौँ महाधिवेशनका लागि प्रस्तुत राजनीतिक प्रतिवेदन, पेज ४९
    १३) Selected Works of Mao Volume I, ON CORRECTING MISTAKEN IDEAS IN THE PARTY, December 1929
    १४) नवौँ महाधिवेशनका लागि प्रस्तुत राजनीतिक प्रतिवेदन, पेज ७८
    १५) ऐ. ऐ. पेज ५९
    १६) नेकपाको विशेष बैठकको परिपत्रबाट
    १७) गुणराज लोहनी, रातो खबर साप्ताहिक, २०७४ चैत ३ गते



    प्रतिक्रिया