• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओलीसँग फरक मत राख्ने नेता दण्डित

    436
    SHARES


    काठमाडौँ। फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ ।

    राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई भने प्रतिनिधिसभा उम्मेदवारीबाट वञ्चित गरिएको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित १४ जनाको टिकट काटिएको छ । १० बुँदे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि बफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ ।

    अछाम-१ बाट एकल सिफारिस भएका पूर्वउपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरा यो क्षेत्रबाट उम्मेदवार हुने भएका छन् । १० बुँदे सहमतिको पहल गरेका रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।

    अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई दलबीच भएको वार्तामा रूपन्देही–३ सहित तीनवटा निर्वाचन क्षेत्र राप्रपालाई दिने टुंगो लागेको छ । राप्रपाले रूपन्देहीबाट दीपक बोहोरालाई उम्मेदवार बनाउनेछ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए । रूपन्देहीबाहेक झापा–३ र बाँके–२ पनि राप्रपाले पाउने भएको छ । झापा–३ बाट अध्यक्ष लिङ्देन र बाँके–२ मा धवलशमशेर राणा चुनाव उठ्ने तयारीमा रेहका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सिट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो ।

    ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका अन्य नेताहरूको पनि टिकट काटिएको छ । सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदहरूको टिकट काटिएको छ । उनीहरू आआफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका थिए । पहाडीले लगातार दुई पटक जितेको सिन्धुली–१ मा प्रदीप कटवाललाई उम्मेदवार बनाइएको छ । कञ्चनपुर–३ मा नीरुदेवी पाल, झापा–२ मा देवराज घिमिरे र दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाइएको छ ।

    अध्यक्ष ओलीलाई साथ दिँदै आएका कतिपय नेताहरू पनि यसपालि पछि परेका छन् । दोलखाबाट पूर्वमन्त्री पार्वत गुरुङको सट्टा व्यापारी बालकृष्ण सिवाकोटीले टिकट पाएका छन् । मकवानपुर–१ का कृष्णप्रसाद दाहाल, पाल्पा–१ का दलबहादुर राना, बाँके–३ का नन्दलाल रोकाया, सुर्खेत–२ का नवराज रावत, म्याग्दीका भूपेन्द्र थापा, बझाङका भैरवबहादुर सिंह, बाजुराका लालबहादुर थापाले पनि उम्मेदवारी पाएनन् । बाजुरामा कर्णबहादुर थापा, बझाङमा अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरलाई उम्मेदवार बनाइएको छ । एमालेले प्रदेशसभाको उम्मेदवार सूची औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।कान्तिपुर

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया