• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    माैसम समाचार

    आज र भोलि वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    420
    SHARES


    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

    बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।

    त्यसैले पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया