धनगढी । नेकपा (माओवादी केन्द्र) अछाममा संघर प्रदेशका उम्मेदवार सिफारिसलाई लिएर विवाद सार्वजनिक भएको छ । स्थानीय चुनावमा अन्तरघात गरी पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेका नेताहरुलाई नै संघ र प्रदेशमा उम्मेदवार सिफारिस गरेपछि विवाद सार्वजनिक भएको हो ।
गत स्थानीय चुनावमा जिल्लाको रामारोशन गाउँपालिकाका अन्तरघातबाट पराजित उम्मेदवार पहल साउदले कारवाही गर्नुको साटो उम्मेदवारी सिफारिस गरेर पुरस्कृति गरेको भन्दै गैर सांगठानिक अराजकताको हद चुलीमा पुगेको बताए । उनले काठमाडौँ र धनगढीका होटलमा बसेर गरिने सिफारिसलाई स्थानीय पार्टीले नमान्ने भन्दै त्यसको उचित जवाफ दिने चेतावनी समेत दिएका छन् ।
प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गोविन्द साउद ‘सुमन’ ले स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै पालिका र जिल्ला पार्टीले कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको थियो । त्यस्तै, अन्तरघातीको संरक्षण गरेको भन्दै अर्का नेता झपट साउदलाई पनि कारवाहीको माग गरिएको थियो । कारवाहीको सिफारिस गरेपनि माओवादी केन्द्रले झपटलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । कारवाही गर्नुको साटो केन्द्रीय सदस्यमा मनोनित गरेपछि स्थानीय पार्टी आक्रोसित बनेको थियो ।
एक नेताका अनुसार अन्तरघातका मुख्य नाइके गोविन्दलाई प्रतिनिधिसभामा सिफारिस गरेपछि पालिका पार्टी कमिटी विरुद्धमा उभिएको छ । पालिका पार्टी कमिटी इन्चार्ज पहल साउदले शुक्रबार सामाजिक संजालमा पैसा खाएर पार्टीलाई हराउनेलाई नछोड्ने चेतावनी समेत दिएका छन् । उनले अन्तरघाती, भगौडा, कायर, निस्क्रियलाई उम्मेदवारमा सिफारिस गरिएको बताए ।
स्थानीय चुनावमा पहललाई हराउन गोविन्दले नेपाली काँग्रेसबाट पैसा खाएर बुथ कब्जा गर्न सहयोग गरेको आरोप लगाउँदै कारवाहीको सिफारिस गरिएको थियो । चुनावमा अछाम कार्यक्षेत्र पाएका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले कारवाहीबाट बचाएको एक नेताले आरोप लगाएका छन् ।
यस्तो छ साउदको स्टाटसः
‘अछाम जिल्ला (बिशेष गरि रामारोशन गाँपा) मा स्थानीय निर्बाचनको समिक्षानै नगरी चुनाबमा अनुपस्थित आफ्नै कार्यकर्ताका फर्जीे र बुथनै हस्तान्तरण गरी पार्टी हराउनेलाई ठाउँका ठाउँ कार्बाहीको सट्टा उम्मेदवार सिफारिस गरी पुरस्कृत गर्नेजस्ता चरम नीति र सिद्धान्तहिन उदारता र गैर–सांगठानिक अराजकताको पराकाष्ठाको चुलिमा पुगेर गरिएको उम्मेदवारी सिफारिस निन्दनिय र बदनियतपूर्ण छ ।
रक्तरञ्जित बलिदानको बिरासत बोकेको पार्टीलाई बिघटनको संहारमा पुर्याउने नेता, नेतृत्व र नन कमिटी प्रणालीप्रति इन्कार जनाउँदै पार्टीमा घात र अन्तर्घात गर्ने र संरक्षण गर्नेलाई अब स्थानीय पार्टीले रकेट लन्चरको जवाफ दिनेछ । धनगढी र काठमाडौंको होटेलमा नन पार्टी कमिटी बसेर होइन जनता कार्यकर्ता र पार्टी कमिटीको बीचबाट उम्मेदवार घोषणा गरिनेछ ।
अन्यथा, पैसा खाएर अन्तर्घाती बचाउनेहरुलाई रत्ति छोडिने छैन यो पार्टीको लिगेसी र मूलस्ट्रीममा निरन्तर छौं । भगौडा, कायर, निस्क्रिय र पार्टी परिवर्तन कहिल्यै गरेनौं र गर्ने छैनौं निरन्तर जनताको सेवा र पार्टी कार्यक्रममा फिल्डमै छौ बाँकी आइतबार बस्ने बैठकको निर्णयबाट… ।’
प्रतिक्रिया