• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीसँगको वार्ता नै रद्द गरेर एकाएक सुकुटे रिसोर्ट किन पुगे प्रचण्ड ? यस्तो रहेछ खास कारण !

    14.6K
    SHARES

    काठमाडौं, २ वैशाख ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर माओवादी अध्यक्ष प्रचण्ड एकाएक सिन्धुपाल्चोकको सुकुटे हानिएका छन् । आइतबार वाईसीएलको टोलीसँग भेटघाट गरेर सुकुटे पुगेका हुन् भने त्यहाँ प्रचण्ड बीच रिसोर्टमा बसेका छन् ।

    वैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि ओली-प्रचण्डबीच मसिनो भेटघाट नै हुन सकेको छैन । आइजिपी नियुक्ति प्रकरणमा भेट भएका दुई नेताबीच यसबीचमा वार्ता समेत भएको छैन ।

    ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर आफ्नो सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई पठाएर प्रचण्ड सुकुटे हानिएका हुन ।

    एकाएक सुकुटे रिसोर्ट किन पुगे प्रचण्ड ?

    एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेको स्रोतले बतायो। ‘तनावबाट मुक्त हुन अध्यक्ष प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे पुग्ने गर्नुहुन्थ्यो।’ स्रोतले संचारकेन्द्रसँग भन्यो – ‘ यसपटक पनि परिवार सहित सुकुटेको इक्वेटर बिच रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ ।’

    तनाव भएको बेला रिफ्रेसका लागि प्राय सिन्धुपाल्चोकको सुकुटे जाने गरेका दाहाल आइतबार पनि परिवार र नेता अग्नी सापकोटा सहितको टोेली लिएर बिच रिसोर्ट पुगेका हुन्।

    ‘नितान्त आरमका लागि जानु भएको हो,अरु खासै केही छैन’ सापकोटाले भने । सुकुटेमा रहदा पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम नरहेको सापकोटाले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल सिन्धुपाल्चोक आउने भएपछि अरनिको राजमार्ग आसपासको सुरक्षा व्यवस्था कडा पारीएको छ ।

    तर रेस्ट गर्नका लागि मात्रै बार्ता रद्द गरेर प्रचण्ड सिकुटे पुगेका भन्दा पनि ओलीसँग निर्णायक छलफल हुन् नसकेपछि उनी निराश बनेका छन ।

    यसबीचमा पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो । तर ओली फर्किए लगत्तै प्रचण्ड सुकेटतर्फ लागेका छन् ।

    यसअघि आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए । वार्ताको बारेमा दुवै पक्षले केही भनेका छैनन् ।

    आइतबार नै माओवादी केन्द्रनिकट वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराखे र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाए एमालेसँग एकता नगर्न नेतृत्वलालाई सुझाव र ध्यानाकर्षणसहित चेतावनी दिएको हो ।

    फ्याक्सन इन्चार्ज मणि थापा र अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखासहितको टोलीले प्रचण्ड निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा मात्रै एकता गर्न ध्यानाकर्षण गराएको हो । वाईसीएल अध्यक्ष दीपशिखाले जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिए ।

    दीपशिखाले भने, ‘जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता गरौं । सहमति हुँदैन भने एकता पनि हुँदैन । त्यस्तो एकता वाईसीएलले मान्दैन भनेका छौं ।’ उनका अनुसार प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता-कार्यकर्ता र शुभेच्छुकहरुको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएका थिए ।

    ‘जनयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई पार्टी अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भन्नु भएको छ,’ वाईसीएल महासचिव सुवोध शेर्पालीले भने । वाईसीएल टोलीलाई प्रचण्डले एकताको अधिकतम पहल भइरहेको जानकारी दिएका थिए ।

    के हो माआवादीले मागेको ‘सम्मानजनक’ एकता ?

    पूर्वघोषित योजना अनुसार एकता टुंगिएको भए प्रदेश र प्रतिनिधि चुनावलगत्तै २ दल एक हुने थिए । तर, नाटकीय शैलीले प्रगति भएन

    पछिल्लो पटक माओवादीले ‘सम्मानजनक’ एकताको विषय अगाडि सारेपछि दुई दलवीच थप तनाव बढेको छ । यी दुई पार्टीका शीर्ष नेता र यिनका कार्यकर्ताहरुको सार्वजनिक अभिव्यक्तिहरु सुन्ने हो भने नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन अर्थात बैशाख ९ गते गर्ने भनिएको एकता पछाडि सर्ने निश्चित छ ।

    खासगरी एकताको ‘डेट फिक्स’ भैसकेपछि माओवादीले दुई वटा विषयमा आफ्नो अडान राखेको छ र त्यसैको जगमा ‘सम्मानजनक’ एकता भनिरहेको छ । दुवै पार्टीका तर्फबाट केन्द्रीय समितिमा समान हैसियत हुनुपर्ने भन्दै माओवादीले यसलाई ‘सम्मानजनक’ को मुद्दा बनाएको छ । भने विधान प्रस्तावनामा जनयुद्ध शव्द राख्नैपर्ने पनि माओवादीको अडान छ ।

    आइतबार वाईसीएलसँगको भेटका क्रममा प्रचण्डले भनेका छन्, ‘एकता प्रयासलाई टुङ्ग्याउन प्रयास भइरहेको छ । सम्मानजनक एकताका लागि केही छलफल र बहस पुगेको छैन । त्यसका लागि केही दिनमै हामी छलफल गर्छौँ । तपाइहरु ढुक्क हुनुस् म पनि सम्मानजनक एकताकै पक्षमा छु । त्यसो नहुँदासम्म एकतामा हतार हुँदैन ।’

    कार्यदलको प्रतिवेदन अन्तिम चरणमा पुगेका वेला पनि प्रचण्डले यहि विषयलाई लिएर ‘फिप्टी–फिप्टी’ को अवधारणा अघि सारेका थिए । तर, एमाले नेताहरु माओवादीलाई चुनावमा जस्तै ३० प्रतिशत दिनेपक्षमा छन् ।  यसअघि २९९ सदस्यीय केनद्रीय समिति बनाउनेमा दुई दल सहमत भएपनि कुन आधारमा एकता गर्ने भन्ने विषयलाई नेताहरुले कुनै मापदण्ड नबनाएपछि यो विषय एकताका लागि पेचिलो बन्दै गएको हो ।

    ‘सम्मानजनक’ एकतामा माओवादीले लिएको दोस्रो मुद्दा हो, ‘जनयुद्ध’ शब्द । एकीकृत पार्टीको विधान र प्रतिवेदनको प्रस्तावनामै ‘जनयुद्ध’ शब्द राख्नुपर्ने माओवादीको भनाई छ । एमाले नेताहरुले यसलाई अस्वीकार गर्दै आएका छन् । यो कारणले पनि एकता प्रक्रिया ढिलाई भैरहेको छ । अहिलेको राजनीति मुद्दाहरुको उठान नेतृत्वको जनयुद्धले गरेको भन्दै माओवादीले जनयुद्धलाई पार्टी विधानको प्रस्तावनामै राख्नुपर्ने अडान लिएको छ ।

    यसबाहेक यी दुईदलवीच चुनाव चिन्हलाई लिएर पनि मतभेद छ । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य बनाउनुपर्ने एमालेको प्रस्ताव छ । माओवादीले चाहिँ सूर्यभित्र हसियाँ हथौडा राख्नुपर्ने माग राखेको छ । यो विषय टुंगिन वाँकी रहेकाले पनि एकतामा समस्या भैरहेको छ । ‘सम्मानजनक’ एकतामा माओवादीले चुनाव चिन्हको मुद्दा पनि राखेको छ ।

    प्रतिक्रिया