• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    अग्निपथ योजनामा नेपाली युवा भर्ती गर्न रोक लगाउनुको कारण के हो ?

    525
    SHARES


    काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका छन् ।

    भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका थिए । मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काले बुधबार राजदूत श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर भर्ती रोक्न भनेका थिए । अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक भएको थियो ।

    के हो अग्निपथ योजना ?

    भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए । यस योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ । भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने छ । यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइने छ ।

    चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर समाप्त हुने छ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान पनि दिइने छ । यसमा कर लाग्ने छैन ।

    विरोध

    चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै युवाहरुले भारतमा विरोध प्रदर्शन गरेका थिए । खासगरी उत्तर प्रदेश, बिहार, तेलंगना लगायत राज्यमा भएका प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। कतिपय पूर्व सैनिक अधिकारीहरुले पनि यो योजनाले राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने भन्दै विरोध गरेका समाचार सार्वजनिक भएका थिए ।

    बीबीसीका अनुसार करिब १४ लाख जवान काम गर्ने भारतीय सेना भारतको एउटा मुख्य रोजगारदाता समेत हो जसका लागि बर्सेनि दशौं लाखले आवेदन दिन्छन् । बर्सेनि झण्डै ६० हजार जना सैनिक सेवानिवृत्त हुन्छन् । ती स्थान पूर्ति गर्न भर्ती योजनाहरू सञ्चालन गरिन्छ ।

    भारतीय सेनामा भर्ती गर्न नेपालमा पनि भर्ती केन्द्रहरु खुल्ने गरेका छन् । भारतीय सेनामा भर्ती भएका नेपालीहरु गोर्खा सैनिकको रुपमा चर्चित छन् । अग्निपथ योजनामा चार वर्ष सेवा गरेर नेपाली युवाहरु बेरोजगार भएमा उनीहरुलाई के गर्ने भन्नेबारे नेपाल सरकारको भने धारणा बनेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ