काठमाडौँ। अस्ट्रेलियामा हुने १२ औँ संस्करणको फ्रेन्चाइज क्रिकेट बिग बास लिग (बीबीएल) को ड्राफ्टका लागि दुई नेपाली खेलाडीको नाम समावेश गरिएको छ ।
बीबीएलले सोमबार सार्वजनिक गरेको नामावली अनुसार विदेशी खेलाडीको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको नाम पनि समावेश गरिएको छ ।
ड्राफ्टका लागि भने सुवासको देश भने नेपाल नभइ क्यानाडा उल्लेख छ । क्यानाडाबाट सुवाससँगै दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ । तर सुवासले बताएअनुसार ड्राफ्टमा नेपाल क्रिकेट संघ (क्यान) को छोटकरी रुप क्यानाडासँग मिल्न गएको कारण गल्तीले उनको देश क्यानाडा लेखिएको हो ।
‘आफैले नाम दर्ता गराएपनि नेपाल क्रिकेट संघको छोटकरी रुप क्यान भएका कारण गल्ती भएको हो । खेल्न त म नेपालबाटै खेल्छु क्यानाडाबाट होइन’ सुवासले इकागजसँग भने । डिसेम्बर १३ बाट सुरु हुने बीबीएलको १२ औँ संस्करणको ड्राफ्ट अगष्ट २८ मा हुनेछ ।
प्रतिक्रिया