काठमाण्डाै। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताए । ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उनले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन् । उनले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिए ।
पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उनले बताए । थपलियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह गरेका छन् ।
‘जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचार संहिता उल्लङ्घन गरेको पनि पाइयो । आचार संहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ’ थपलियाले भने ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावका लागि सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको पनि बताए । उनले अबको चुनावमा कुनै पनि मतदान केन्द्रमा दोहोरिएर मतदान नहुने गरी सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिए । जहाँ घटना हुन्छ, त्यहीँ कारबाही गर्न सरकारसँग आग्रह गरिएको उनको भनाइ रहेको छ ।
पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले चुनावमा सामाजिक सञ्जालको प्रयोगमा बीसेस ध्यान दिनुपर्ने बताए । सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘चुनावमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ’ उनले टिप्पणी गरे ।
प्रतिक्रिया